इङ्लिस प्रिमियर लिग

सान्चोको गोलमा युनाइटेड हारबाट जोगियो

लन्डन । वैकल्पिक खेलाडी जाडोन सान्चोको गोलमा म्यानचेस्टर युनाइटेडले बुधबार इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडविरुद्ध हार टारेको छ ।

युनाइटेड लिड्ससँग २-२ को बराबरीमा रोकिएको हो । लिड्सले गत साता लगातारको खराब प्रदर्शनको कारण देखाउँदै मुख्य प्रशिक्षक जेसी मार्चसलाई बर्खास्त गरेको थियो । ओल्ड ट्राफोर्डमा लिड्सको प्रशिक्षण मिचेल स्कुवालाले सम्हालेका थिए । 

खेलको पहिलो मिनेटमै वेल्फर्ड गुन्टोले गरेको गोलमा लिड्सले अग्रता लिएको थियो । ४८औं मिनेटमा युनाइटेडका राफेल भरानले आत्मघाती गोल गरेसँगै लिड्सले अग्रता दोब्बर पारेको थियो ।

६२औं मिनेटमा मार्कुस रासफोर्डको गोलमा युनाइटेडले खेलमा फर्कने संकेत गरेको थियो । ७०औं मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए ।
दुई गोलको अग्रता लिएको लिड्स ४२ वर्षपछि ओल्ड ट्राफोर्डमा जित निकाल्ने संघारमा पुगे पनि सफल भएन ।

युनाइटेड २२ खेलमा ४३ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको आर्सनलको २० खेलमा ५० र दोस्रो स्थानको म्यानचेस्टर सिटीको २१ खेलमा ४५ अंक रहेको छ । चौथो स्थानको न्युक्यासल युनाइटेडको ४० अंक छ । 

लिड्स भने २१ खेलमा १९ अंकसहित १६औं स्थानमा छ ।