नेपाली क्रिकेट

धनगढीमा दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट हुने

धनगढी । धनगढी क्रिकेट एकेडेमी(डीसीए)को आयोजनामा दीपेन्द्र स्वार स्मृति स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । 
धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ ५ गतेबाट उक्त प्रतियोगिता हुनेछ । प्रतियोगितामा २० वटा स्कुलहरुको सहभागिता छ ।

माघ १६ गतेसम्म सचालन हुने प्रतियोगिता टी २० फर्म्याटमा खेलाइने छ  । फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार रुपैयाँ पाउनेछ । 

यस्तै ‘प्लेयर अफ द टुर्नामेन्ट’ले पाँच हजार रुपैयाँसहित डीसीएमा चार महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए । त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले समान तीन हजार रुपौयाँ  र तीन महिनाको छात्रवृत्ति पाउनेछन् ।

डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ । 

‘मेरो छोराको पनि खेलप्रति ठूलो रुचि थियो । खेलले अनुशासनमा बस्न र स्वास्थ्य नागरिक उत्पादनमा सहयोग पुर्याउँछ,’ दीपेन्द्रकी आमाबासु बम स्वारले भनिन्, ।

एकेडेमीका व्यवस्थापक न्यौपानेले स्कुललेभल देखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस भन्ने हेतुले स्कुल स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए । 


‘स्कुलमै थुप्रै क्रिकेटप्रति रुचि भएका प्रतिभावान खेलाडीहरु हुनुहुन्छ,’ न्यौपानेले भने, ‘उहाँहरुलाई उचित प्लेटफर्म दिन र उहाँहरुको प्रतिभा चिनि त्यसलाई तिखार्ने प्रतियोगिताको उद्देश्य हो ।’

डीसीएको स्कुल स्तरीय प्रतियोगिताबाट पहिचान भएका नारायण जोशी, बसन्त कार्कीलगायत खेलाडीहरु हाल राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् ।  

प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।