प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रदेश एकको लगातार दोस्रो जित

काठमाडौं ।  प्रदेश एकले प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

प्रदेश एकले इटहरीको जनता क्रिकेट पार्कमा सोमबार सम्पन्न पहिलो खेलमा लुम्बिनी प्रदेशललाई नौ रनले पराजित गरेको हो  ।

यस जितसँगै  समूह ‘बी’ को  प्रदेश एकले दुई खेलमा चार अंक जोड्दा पहिलो पराजय ब्यहोरेका लुम्बिनीको समान खेलबाट दुई अंक छ । पहिलो खेलमा प्रदेश एकले मधेस प्रदेशलाई नौ विकेट तथा लुम्बिनीले कर्णाली प्रदेशलाई ९८ रनले हराएका थिए ।

प्रदेश  एकले  प्रस्तुत गरेको  ६० रनको लक्ष्य  पछ्याएको लुम्बिनीले निर्धारित नौ ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ५० रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले ३१ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश एकका लागि संगिता राईले तीन तथा सबनम राई, ज्योति दुनवार र कप्तान रुबिना क्षेत्रीले समान एक विकेट लिए ।

बाक्लो हुस्सुका कारण टसमा ढिलाई भएपछि खेललाई नौ ओरभमा झारिएको थियो ।

यसअघि टस जितेर ब्याटिङ राजेको प्रदेश १ ले निर्धारित नौ ओभरमा चार विकेट गुमाउँदै ५९ रनको योगफल तयार पारेको थियो ।

प्रदेश एकका लागि काजल श्रेष्ठले २१, रुबिना क्षेत्रीले १७ र अप्सरी बेगमले १२ रन जोडे ।

लुम्बिनीका लागि किर्तिका मरासिनी, सरस्वती पुन र बिवास्ना जिसीले समान एक विकेट लिए ।

सोमबार नै हुने  दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशको सामना गर्नेछ ।