नेपाल टि–२० लिग

जनकपुरलाई लुम्बिनीको एक सय ७९ रनको लक्ष्य

 

काठमाडौँ ।   भारतीय  ब्याटर  हरमीत सिंहको अर्धशतकप्रेरित लुम्बिनी अल स्टार्सले नेपाल टि–२० लिगमा जनकपुर रोयल्ससामू एक सय ७९ रनको लक्ष्य  प्रस्तुत गरेकाे छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा  जारी मंगलबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ राजेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७८ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि हरमीतले ४७ बलमा ६ छक्का र पाँच चौका  मद्दतमा  सर्वाधिक ७३ रनको योगदान दिए । यसैगरी श्रीलंकका  लाहिरु मिलान्थाले ३३,आयरल्यान्डका ह्यारी टेक्टरले अविजित १८,कुशल भुर्तेलले १७,  कप्तान दिपेन्द्रसिंह ऐरीले १४ तथा अनिल शाहले अविजित १० रन जोडे ।


पहिलो विकेटका लागि हरमीत र लाहिरुले ७७ रनको साझेदारी गदै टोलीलाई राम्रो सुरुआत दिलाएका थिए ।  जनपुरकका  लागि अफगानिस्तानका सराफुद्दिन असरफले तीन तथा जितेन्द्र मुखिया,ललितनारयण राजवंशी र  अफगानिस्तानका  समिउल्लाह सिनवारीले समान एक विकेट लिए ।

७ खेल खेलेको लुम्बिनी १२ अंकसहित तालिकाको शिर्षस्थानमा छ भने १० अंकसहित जनकपुर दोस्रो स्थानमा  छ ।

मंगलबार नै सम्पन्न पहिलो खेलमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गरेको थियो ।  विवादपछि दुई घण्टा ढिलो गरी टस भएपछि खेल नौ ओभरमा झारिएको थियो । निर्धारित समयअनुसार टस बिहान ८ः३० मा हुनुपर्ने थियो । तर दुवै टोलीले टस अघि बुझाउनु पर्ने खेलाडीको लिस्ट नै बुझाएका थिएनन् ।

पारिश्रमिक नपाएपछि खेलाडीले नखेल्ने निर्णय गरेका थिए । दुवै क्लबका खेलाडीले प्रतियोगिता सुरु हुनुअघि सम्झौता अनुरुपको ४० प्रतिशत रकम र प्रतियोगिता दौरान बाँकी ६० प्रतिशत रकम पाउनु पर्ने दाबी गर्दै मैदान उत्रन अस्विकार गरेका थिए ।