नेपाल टी २० लिग

क्यान नेतृत्वको स्वार्थप्रेरित हठले सम्पूर्ण नेपाली क्रिकेट नै ‘दाउ’मा, प्रतियोगिता बन्यो मिलोमतो, भ्रष्टाचार र बेटिङको थलो

काठमाडौं । नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान)कै नेतृत्वको स्वार्थप्रेरित बालहठले नेपाली क्रिकेटलाई मैदानभित्र पनि निक्कै अप्ठेरो मोडमा पुर्याएको छ ।

नेपालको प्रचलित कानुनविपरित भारतीय कम्पनीलाई जबरजस्ती बेचिएको फ्रेन्चाइज प्रतियोगिता नेपाल टी २० लिगभित्रका स्वार्थ लडाईले सम्पूर्ण नेपाली क्रिकेटलाई नै दाउमा राखेको छ ।

क्यानसँग नेपाल टी २० लिग आयोजनाको अधिकार विवादास्पद तरिकाले खरिद गरेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन लुहालिया सम्पर्कविहिन भएसँगै मंगलबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दूर्लभ जात्रा देखियो । पारिश्रमिक नपाएका कारण खेलाडीहरु मैदान उत्रिन मानेनन् भने श्रम स्वीकृति नभएका कारण विभिन्न बहानामा विदेशी खेलाडीहरु घर फर्किने क्रम सुरु भइसकेको चर्चा व्याप्त छ ।

सुरुदेखि नै नेपाली कानुनको धज्जी उडाउँदै आएको लिगमा विना श्रम स्वीकृति विदेशी खेलाडी खेलाउने काम भइरहेको थियो । सम्बन्धित निकायले सोमबार क्यानलाई श्रम स्वीकृतिको बारेमा पत्र काटेपछि भने विभिन्न बहानामा विदेशी खेलाडीहरु फर्किने क्रम सुरु भएको विभिन्न फ्रेन्चाइजबाट प्रतियोगिता खेल्दै गरेका खेलाडीहरुले बताएका छन् ।

मंगलबार बिहान ८ः३० बजे काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलका लागि टस हुनु पर्ने थियो । तर खेलाडीले सम्झौताबमोजिम पारिश्रमिक नपाएका कारण दुवै टोलीले टस अघि बुझाउनु पर्ने खेलाडीको लिस्ट नै बुझाएन । दुवै क्लबका खेलाडीले प्रतियोगिता सुरु हुनुअघि सम्झौता अनुरुपको ४० प्रतिशत रकम र प्रतियोगिता दौरान बाँकी ६० प्रतिशत रकम पाउनु पर्ने दाबी गर्दै मैदान उत्रन अस्वीकार गरेका थिए ।

तर क्यान नेतृत्वले मंगलबारै साँझसम्ममा खेलाडीले पाउनुपर्ने रकम दिइसक्ने आश्वासन दिएपछि मंगलबारका खेल सुचारु भए । तथापि प्रत्येक निर्णयहरु अध्यारो कोठाबाट गर्दै आएको क्यान र सेभेन थ्री स्पोर्टसबाट सरोकारवालाहरु आस्वस्त हुन भने सकेका छैनन् ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले गोप्य रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई सम्पूर्ण आयोजना अधिकार बेचेपछि विवादमा आएको नेपाल टी २० लिगको विषयमा सर्वोच्च अदालतमा मुद्धा परेको थियो ।

अदालतमा मुद्धा परेको अवस्थामा आफ्नो लगानी सुरक्षित नहुने चासोका कारण कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौं गोर्खाजले नेपाल टी २० लिग नखेल्ने निर्णय गरेको थियो ।

देशभित्रै खुल्ला प्रतिस्पर्धामार्फत आयोजक छान्नुपर्ने सामान्य आर्थिक नियमसमेत मिचेर गोप्य रुपमा भारतीय कम्पनीलाई क्यानले आयोजना अधिकार बेचेको विरुद्ध लामो समयदेखि नियमित अर्को फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट प्रिमियर लिग गर्दै आएका अमिर अख्तरले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

राष्ट्रिय खेलकुद ऐन २०७७ मा रहेको ‘कुनै पनि विदेशी कम्पनीलाई नेपाली प्रतियोगिताको अधिकार बेच्दा अनिवार्य रुपमा सरकारी पूर्व स्वीकृति लिनुपर्ने’ प्रावधान समेत सेभेन थ्रीलाई नेपाल टी २० को आयोजना अधिकार बेच्दा क्यानले पालना गरेको थिएन ।

क्यानले युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदबाट पूर्व स्वीकृति लिएको दाबी गर्दै आए पनि अदालतले माग गरेअनुसार परिषदले पठाएको पत्रमा आफूले कुनै स्वीकृति नदिएको उल्लेख थियो ।

अदालती प्रक्रिया चलिरहँदा विभिन्न बेटिङ कृयाकलापमा सेभेन थ्रीको संकास्पद संलग्नता देखिएको भन्दै त्यस्तो कम्पनीलाई नेपाली क्रिकेट बेच्दा मिलोमतो र बेटिङका कारण नेपाली क्रिकेट नै ध्वस्त हुने भन्दै सरोकारवालाहरुले चासो व्यक्त गरिएका थिए । तर क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव प्र्रशान्तविक्रम मल्लले त्यसको खण्डन गर्दै नेपाल टी २० नेपाल क्रिकेट इतिहासकै सबभन्दा भव्य र ठूलो प्रतियोगिता हुने हठ गरिरहेका थिए ।

मंगलबार क्यान नेतृत्वको त्यो दाबी पनि खुलेआम रुपमा गलत साबित भयो । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई मिलोमतोको प्रस्ताब आएको खुलासा गरे । ‘हाम्रो टिमका एक खेलाडीलाई प्रस्ताब आएको हो । हामीले नियमअनुसार एन्टी करप्सनलाई जानकारी गरायौं । तर प्रस्ताब आउनु र मिलोमतो हुनु फरक कुरा हो,’ पत्रकारहरुसँगको कुराकानीमा उनले भने ।

चन्द र मल्लको हठ विपरित खुलेआम रुपमा भारतमा नेपाल टी २० का खेलहरु बेटिङका लागि उपलब्ध भइरहेका थिए । जसलाई रोक्नेमा उनीहरुले कुनै पहल गरेका थिएनन् । साथै यही प्रतियोगितासँग सम्बद्ध एक कमेन्टेटरले सार्वजनिक रुपमै यसका खेलहरु संकास्पद रहेको भन्दै मिलोमतोको आशंका गरेका छन् ।

भारतीय कम्पनीसँग १३औं सागका लागि पनि राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीले चार करोड रुपैयाँको सम्झौता गरेको थियो । तर साग सकिएसँगै भारतीय कम्पनी बेपत्ता हुँदा नेपाली खेल प्रशासनले पाउनुपर्ने उक्त रकम डुबेको थियो । यही कारण पनि क्यानलाई अर्को भारतीय कम्पनीसँग बेंक ग्यारेन्टीविना क्रिकेट नबेच्न गरिएका आह्वानलाई लत्याउँदै चन्द र मल्लले विभिन्न तर्क गरिरहेका थिए ।

‘नेपाली क्रिकेटलाई मिलोमतोको खाडलमा जाकेर सर्वोच्च निकायले नै ठूलो अपराध गरेको छ । क्यान नेतृत्वलाई कुनै पनि बहानामा यो अपराधका लागि सजाय हुनुपर्छ । खेल नै डुबाउने यस्तो अपराधका लागि कसैले पनि उन्मुक्ति पाउनुहुन्न,’ एक खेलाडीले भने ।

क्यानको कार्यसमितिकै केही सदस्यहरुले बारम्बार नेतृत्वलाई सेभेन थ्रीसँगको सहकार्यले नेपाली क्रिकेटमा मिलोमतोको प्रवेश हुने, देशकै बदनाम हुने भन्दै गैह्रकानुनी तरिकाको सम्झौता नगर्न नेतृत्वलाई सचेत गराएका थिए । तर नेतृत्वले ‘हामीसँग बहुमत छ । बहुमतले निर्णय गर्छौ’ भन्दै बलमिच्याई गरेको क्यानका एक सदस्यले खेलाडी डटकमसँग भने ।

‘हामीले बारम्बार सचेत गराउनाका बावजुद जबरजस्ती गर्दा यसमा उहाँहरुको पनि स्वार्थ पुष्टी हुन्छ । अदालतमा मुद्धा समेत परेको थियो, तर उहाँहरुले नेपालको कानुनकै धज्जी उडाएर गैह्रकानुनी सम्झौता गर्नुभयो । त्यसकारण क्यानका अध्यक्ष र सचिवले तत्काल नैतिकताका आधारमा राजीनामा गर्नुपर्छ र उहाँहरुमाथि माथिल्लो निकायबाट छानविन हुनुपर्छ,’ ती सदस्यले भने, ‘सीमित पदाधिकारीको स्वार्थमा सम्पूर्ण देशको बदनाम गर्न पाइन्न । नेपाली क्रिकेटलाई ध्वस्त बनाउन पाइन्न । सेभेन थ्रीले पैसा दिँदैन, बेटिङ हुन्छ, फिक्सिङ हुन्छ भन्नेजस्ता सबै कुरा पहिल्यै सचेत गराइएको हो । तर उहाँहरुले जबरजस्ती गरेपछि सजाय पनि भोग्नुपर्छ ।’

क्यान नेतृत्वले नेपालको कानुन तथा क्रिकेटका प्रचलित चलनहरुलाई समेत बेवास्था गर्दै सेभेन थ्रीलाई नेपालको क्रिकेट बुझाउने क्रममा सम्झौतादेखि प्रतियोगिता आयोजनासम्म सबै काम अपारदर्सी तवरमा गर्दै आएको छ । कानुनविपरित सम्झौता गरेको प्रतियोगिताका लागि फ्रेन्चाइज चयन पनि पारदर्सी थिएन । यसैगरी खेलाडीको ड्राफ्ट र अक्सन पनि गोप्य रुपमै गरिएको थियो ।