नेपाल टी–२० लिग

काठमाडौंले दियो पोखरालाई एक सय ६३ रनको लक्ष्य

काठमाडौं । अजमतउल्लाह ओमरजाईको आक्रमक ब्याटिङप्रेरित काठमाडौं नाइट्सले नेपाल टी–२० लिगको उद्घाटन खेलमा  पोखरा एभेन्जर्ससमू  एक सय ६३  रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित १९ ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६२ रन बनायो ।

मैदान ओसिलो भएका कारण टसमा ढिलाइ हुँदा  खेललाई १९ ओभरमा झारिएको थियो। 

काठमाडौंका लागि ओमरजाईले अविजित रहँदै  ४२ बलमा सात छक्का र तीन चौका मद्दतमा सर्वाधिक ८५ रनको योगदान दिए ।

यसैगरी सुनम गौतमले अविजित २७ एलेक्स ब्लेकले २१ र वीरनदीप सिंहले १० रनको योगदान दिए ।

पोखराका लागि प्रतिश जिसी र  जाहिर खानले समान दुई तथा मौसम ढकालले एक विकेट लिए । 
 

दुवै टोली आज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा छन्  । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा भएको लिग पुस २७ सम्म सञ्चालन हुनेछ ।  

नेपाल टी–२० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट्स,जनकपुर रोयल्स,लुम्बिनी अल स्टार्स,फार वेस्टर्न युनाइटेड,विराटनगर सपर किंग्स र पोखरा एभेन्जर्स गरि ६ टोली सहभागि छन् ।