मध्यपूर्वको एउटा सानो देशले विश्व खेलकुदकै ठूलो मेला विश्वकप फुटबल भव्यसँग सम्पन्न गरेको एक सातामात्र भयो । १२ वर्षअघि कतारले २०२२ को विश्वकप आयोजना गर्नेभन्दा धेरैले आश्चर्य मानेका थिए ।
कतारको यो अभियानलाई दुस्साहस मान्नेहरूकै संख्या धेरै थियो । अन्ततः ढंगको एउटै रंगशाला नभएको देशले २०१० डिसेम्बर २४ मा विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता आयोजनाको अधिकार प्राप्त ग¥यो ।
विश्वकप २०२२ आयोजनाका लागि एसियाबाटै अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र इन्डोनेसिया तथा अमेरिकाले प्रस्ताव पेस गरेका थिए । इन्डोनेसियाले सुरुमै इच्छा परिवर्तन ग¥यो । अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले पनि मतदानसम्म प्रतिस्पर्धा गरेनन् । अन्तमा अमेरिकालाई फिफा कार्यसमितिको मतदानमा पछि पार्दै विश्वकप आयोजनाका लागि कतारले बाजी मारेपछि फिफा कार्यसमितिको त्यो निर्णय निकै विवादमा तानिएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा वर्चस्व जमाएर बसेका पश्चिमा मुलुकका लागि मध्यपूर्वको एउटा सानो देशले विश्वकप आयोजना गर्ने कुरा सहन सक्ने विषय थिएन ।
विश्वकप आयोजनाका लागि कतारको सामथ्र्यमै प्रश्न उठ्यो । परम्परागत रूपमा जुन–जुलाईमा हुँदै आएको विश्वकपका लागि कतारको मौसम अर्को चुनौती थियो । पूर्वाधार पूर्ण रूपमा नयाँ बनाउनु पर्दथ्यो । सबै विषय पश्चिमा मुलुकका लागि कतारबाट विश्वकप खोस्ने प्रयासका लागि गतिला मसला थियो । तर कतारले समयमै विश्वकपका लागि रंगशालालगायत सबै पूर्वाधार निर्माण गरिसक्ने र ‘ओपन एयर कुलिङ सिस्टम’मार्फत रंगशाला र ‘फ्यान जोन’हरूलाई पनि वातानुकूलित पार्ने विश्वासिलो प्रतिबद्धता जनायो ।
यत्तिमै कतारका चुनौती पार लागेनन् । त्यसपछि पनि कतारले अरू थुप्रै अवरोध सामना गर्नुपरिरह्यो । ठूलो रकम घुस दिएर फिफाबाट आयोजना अधिकार ‘किनेको’ आरोप कतारमाथि थियो । त्यसमाथि फिफाको इथिक्स कमिटीलगायत थुप्रै अरू अन्तर्राष्ट्रिय निकायले अनुसन्धान गरेका थिए । फिफाको तत्कालीन सिन्डिकेट विश्वव्यापी रूपमै भत्काइयो । तर कतारबाट विश्वकप खोस्न पर्याप्त आधारहरू भेटिएनन् ।
भ्रष्टाचार र घुस लेनदेनको आरोपबाट कतारले सफाइ पाएपछि अर्को मुद्दा थपियो, कतारमा फुटबलको संस्कार छैन भनेर । कतारले पछिल्ला १२ वर्षभित्र त्यसमाथि पनि विजय प्राप्त ग¥यो । यसबीचमा विश्वका ठुल्ठूला देश र क्लबदेखि दक्षिण एसियाका राष्ट्रिय टिमलाई समेत आतिथ्यता प्रदान गरेर दर्शकले खचाखच भरिएको रंगशाला विश्व समुदायलाई देखायो ।
विदेशी कामदारको श्रम अधिकारको मुद्दा त कतारको सबैभन्दा ठूलो टाउको दुखाइ बन्यो । ३० लाख हाराहारीमा जनसंख्या रहेको कतारमा यहाँका स्थानीयको संख्या १५ प्रतिशतभन्दा कम छ । नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र केही अफ्रिकी देशका कामदारको बलमा कतारले विश्वलाई लोभ्याउने रंगशाला र अन्य पूर्वाधार यही १२ वर्षबीचमा बनाएको थियो । कतारले विदेशी कामदारको अधिकारको मुद्दालाई आफ्नो कानुनमा सुधार गरेर भए पनि जसोतसो पार लगायो ।
इन्धनको धनी देशले १२ वर्षको तनावपूर्ण समय पार लगाइसकेको छ । अब प्रत्येक कतारीले गर्वका साथ ‘हामीले इतिहासमै सबैभन्दा भव्य विश्वकप फुटबल आयोजना गरायौं’ भनेर भन्नसक्ने भएका छन् । एउटा राज्यका रूपमा कतारका ती सबै तनाव र समस्यामा सबैभन्दा दरिलो साथ कसैको थियो भने त्यो नेपाल र नेपालीको थियो ।
नाइजेरियाका एक उबर चालकको भनाइ सापट लिने हो भने कतार भन्ने पूरा देश नै नेपालीले निर्माण गरेका हुन् । कतारमा नेपालीको संख्या साढे ४ लाखभन्दा बढी छ । जबकि कतारीको संख्या नै त्योभन्दा कम छ । कतारको कुल जनसंख्यामा स्थानीय १५ प्रतिशत छन् भने नेपाली १६ प्रतिशत । सबैभन्दा धेरैचाहिँ भारतीय २४ प्रतिशत छन् ।
कतारका प्रत्येक रंगशाला, मेट्रो, सडक, बाटोघाटो, विमानस्थल, होटल, अस्पताललगायतका पूर्वाधार निर्माणमा नेपाली कामदारकै बाहुल्य थियो र अहिले पनि छ । दोहाका प्रत्येक सानादेखि ठूला काम र व्यवसायमा नेपालीको बाक्लो उपस्थिति छ । यस अर्थमा कतारको अर्थतन्त्रमा पनि नेपालीको ठूलो योगदान छ ।
कतारले भर्खर विश्व फुटबलको सबैभन्दा ठूलो मेला पूरा विश्वबाट वाहवाही बटुल्ने गरी सम्पन्न गर्दा जताततै नेपालीको ठूलो सहभागिता रह्यो । तर कतारी फुटबलमा भने नेपालको प्रतिनिधित्व खासै छैन ।
स्यान्सु भुसालले कतारी फुटबलमा नेपालको एक्लो प्रतिनिधित्व गरेका छन् । नेपालको यु–२० राष्ट्रिय टोलीबाट खेलिसकेका रक्षक स्यान्सु कतारी लिगको क्लब अल वक्राको यु–२२ र यु–२३ टोलीबाट लिग खेलिरहेका छन् ।
को हुन् स्यान्सु ?
नेपाली राष्ट्रिय फुटबल टोली सन २०१४ मा फिलिपिन्ससँग एउटा मैत्रीपूर्ण खेल खेल्न दोहा आउँदा एकजना सानो बालक बाबुसँग टिमको स्वागतमा रंगशाला पुगेका थिए । नेपालको झण्डा ओढेर उनी अल अरबी रंगशाला पनि आइपुगेका थिए । टिमका प्रत्येकजसो कार्यक्रममा १२ वर्षका ती बालकको नियमित उपस्थिति हुन्थ्यो । तिनै बालक हुन् अहिले नेपाली फुटबलले आस गर्न थालेका स्यान्सु ।
नेपालको चितवन स्थायी घर भएका स्यान्सु ६ वर्षको उमेरमै सन् २०१० मा आमाबुवासँग कतार बसाइ सरेका थिए । बावु स्यामु भुसालको कतारमा निर्माण व्यवसाय छ । बावु स्यामुसँगै उनको पूरा परिवारमा फुटबलको मोह अगाध छ । यही कारण उनले विदेशमा व्यावसायिक व्यस्तता रहे पनि स्यान्सुलाई नियमित फुटबल प्रशिक्षणमा लाने व्यवस्था गरिरहे । यही कारण त हो, अहिले छोरा आफ्नो उमेर समूहमा देशलाई प्रतिनिधित्व गर्ने भएका छन् । अनि छोरा आफूले काम गरिरहेको देशकै शीर्ष डिभिजनको क्लबबाट खेल्ने भएका छन् ।
‘खेल्ने त उसैले हो । ऊसँग इच्छा र क्षमता हुनुपर्यो । हामीले त वातावरण मिलाइदिने हो । कुनै दिन उसले राष्ट्रिय टिमलाई प्रतिनिधित्व गरोस् भन्ने छ,’ स्यान्सुका बावु स्यामु भन्छन् ।
कतार आउनेबित्तिकै स्कुलमा स्यान्सु नियमित फुटबल खेल्थे । सन् २०१६ मा एउटा स्कुल स्तरको प्रतियोगितामा अल अरबी क्लबका स्काउटको नजरमा परे उनी । त्यसपछि स्यान्सुले अल अरबीमै प्रशिक्षण गर्न थाले । अल अरबी उनको घरभन्दा निकै टाढा थियो । नियमित आउजाउमा कठिनाइ भएपछि अल अरबीकै प्रशिक्षकको सल्लाहमा स्यामुले एक वर्षपछि सन् २०१७ मा उनलाई घर नजिकको क्लब अल वक्रामा भर्ना गरिदिए ।
अल वक्रामा नियमित चार वर्ष प्रशिक्षण गरेपछि गत असारमा भने उनले यु–२० र यु–२३ को टिमलाई प्रतिनिधित्व गर्ने गरी स्थानीय खेलाडीको हैसियतमा टिमसँग अनुबन्धित हुने मौका पाए । १८ वर्षका स्यान्सुले दुवै उमेर समूहको लिगका लागि हप्तामा दुई खेल खेल्नुपर्ने हुन्छ । दुवै लिग यसै साता सुरु हुँदै छ ।
कतार फुटबल संघको परिवर्तित नियमअनुसार स्यान्सुले अल वक्रासँग स्थानीय खेलाडीको कोटामा अनुबन्ध सम्झौता गरेका हुन् । पहिला कतारमा जन्मिएका खेलाडीले मात्र यहाँको लिगमा स्थानीय खेलाडीको हैसियत पाउँथे । तर, २०१७ मा कतार फुटबल संघले त्यो नियम परिवर्तन गरेर ५ वर्ष बसेका खेलाडीलाई स्थानीयको हैसियत दिने निर्णय गर्यो । जसअनुसार भविष्यमा स्यान्सुले कतार वा नेपालमध्ये जुनसुकै देशलाई पनि अन्तर्राष्ट्रिय फुटबलमा प्रतिनिधित्व गर्न पाउनेछन् ।
दुई वर्षअघि दशरथ रंगशालामा भएको पहिलो नेपाल सुपर लिग (एनएसएल) मा ट्रायल दिन स्यान्सु काठमाडौं पुगेका थिए । त्यहाँ उनलाई चितवन टाइगर्सले अनुबन्ध ग¥यो । स्यान्सुले पहिलो सिजन एनएसएलमा मैदान उत्रिने खासै मौका पाएनन् । तर, अभ्यासमा आफ्नो क्षमता देखाएर नेपाली फुटबलका सरोकारवालाहरूको आँखामा पर्ने अवसरको उपयोग उनले गरेका थिए ।
लगत्तै सहिद स्मारक ‘ए’ डिभिजन लिगको टोली सातदोबाटोले पनि उनलाई अनुबन्ध गरेको थियो । सातदोबाटोबाट झापामा उनले ‘डेब्यु’ गरे । सातदोबाटोबाटै एक वर्ष लिग खेले । सातदोबाटोका लागि गरेकै प्रदर्शनका आधारमा २० वर्षमुनिको साफ च्याम्पियनसिपका लागि गत असारमा उनलाई राष्ट्रिय टोलीसमेत बोलाइयो ।
तर, कतारमै अल वक्रासँगको अनुबन्धन प्रक्रियाका कारण उमेर समूहको राष्ट्रिय टोलीसँग भारतको भुवनेश्वर जाने अवसर स्यान्सुले गुमाउनुप¥यो । लगत्तै नेपाली युवा टोलीले एसियन कप छनोटका लागि बहराइन भ्रमण गर्नु थियो । कतारको क्लबसँग अनुबन्धन प्रक्रिया सम्पन्न भइसकेका कारण उनी बहराइन भ्रमणमा भने टोलीमा थिए ।
|
‘छोराले नेपालको राष्ट्रिय युवा टोलीमा मौका पाउँदा हामीलाई मिहिनेतको फल मिलेजस्तो भयो । उसको करियर अझै अगाडि बढाउन हाम्रो तर्फबाट कुनै कमी राख्ने छैनौं,’ स्यामु भन्छन्, ‘युवा टोलीमा पर्दा हामीलाई निकै गर्व लागेको थियो । अब राष्ट्रिय टोलीबाटै देशको सेवा गरोस् भन्ने चाहना छ ।’
नेपालमा प्रशिक्षण हेर्नुका साथै कतारमा पनि स्यान्सुको खेल अवलोकन गरेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एवं प्रशिक्षक राजुकाजी शाक्य स्यान्सुमा राम्रो खेलाडी हुनुपर्ने गुण पर्याप्त रहेको बताउँछन् ।
‘प्राविधिक रूपमा राम्रो छ । तर स्यान्सु अलिकति ‘स्लो’ छ । उसले फुटबलमा माथि जान स्पिड बढाउनेतर्फ ध्यान दिनुपर्छ । भर्खर १८ वर्षको मात्र भएकाले उसमा राम्रो सुविधा र प्रशिक्षणले धेरै निखार आउन सक्छ,’ बुधबार अल वक्राको युवा टोलीले यहींको अर्को टिमसँग खेलेको अभ्यास खेल हेरेपछि शाक्यले भने ।
कतारको सुविधामा नियमित प्रशिक्षण गर्न पाउने भएकाले स्यान्सुको भविष्य उज्ज्वल देख्छन् शाक्य । भन्छन्, ‘यहाँ उसले राम्रो मैदान र सुविधाका साथ नियमित प्रशिक्षण पाउँछ । जसका कारण उसले भविष्यमा धेरै राम्रो गर्न सक्छ । हाम्रो फुटबल उमेर समूहसम्म राम्रो हुन्छ । तर पछि सिनियर लेभलमा पुग्दा कम सुविधा र नियमित प्रशिक्षणको अभावमा खेलाडीको स्तर अपेक्षित रूपमा विकास हुँदैन । तर स्यान्सुले त्यस्तो नियति भोग्नुपर्ने छैन । त्यसकारण उसको फुटबल भविष्य उज्ज्वल देख्छु म ।’
स्यान्सुका लागि कतार विश्वकप ?
कतार पछिल्लो केही महिनादेखि पूर्ण रूपमा विश्वकपमय बन्यो । ठूलो अर्थतन्त्र भए पनि भूगोल र जनसंख्याको हिसाबमा एउटा सानो देशले पहिलो पटक विश्व फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता गर्दै थियो । जसका कारण पूरा देश विश्वकप सफल बनाउने ध्याउन्नमा रह्यो । त्यसबाट स्यान्सु र उनको दैनिकी पनि प्रभावित नहुने कुरै भएन ।
खासमा स्यान्सुका लागि त यो विश्वकप एउटा ठूलो अवसर रहयो । ‘एउटा खेलाडीका लागि आफू बसेकै सहरमा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हुनु, आफैंले रंगशाला पुगेर प्रत्यक्ष रूपमा खेल हेर्न पाउनु, आफूले आदर्श मानेका खेलाडीलाई नजिकबाट देख्न पाउनु र फोटो खिच्न पाउनु भनेको ठूलो सौभाग्य हो । यो मैले प्राप्त गरें,’ कर्नर प्रहार गर्दै गरेका अर्जेन्टिनी कप्तान लियोनल मेसी पृष्ठभूमिमा देखिने गरी खिचेको सेल्फी देखाउँदै स्यान्सु रोमाञ्चित भए ।
बेल्जियमका समर्थक स्यान्सुलाई सबैभन्दा मनपर्ने खेलाडी इडेन हाजार्ड हुन् । चेल्सी उनको सबैभन्दा मनपर्ने क्लब भएकाले हाजार्ड उनलाई मनपर्न थालेको हो । तर उनको प्रिय टिमले यसपालि कतार विश्वकपमा समूह चरण पार गर्नै सकेन । बेल्जियमको अनुपस्थितिपछि उनको समर्थन फेरियो । नकआउट चरणदेखि स्यान्सुले ६ पटकका बालोन डी’अर विजेता लियोनल मेसीका लागि अर्जेन्टिनाको समर्थन गर्न थाले ।
‘पहिलो खेलमा साउदीसँग पराजित भए पनि त्यसपछिका सबै खेल जित्दै मेसीले विश्वकप उचाले । उनीजस्तो खेलाडीको करियरले विश्वकप ‘डिजर्भ’ गथ्र्यो । मेसीका लागि खुसी छु,’ साउदी अरेबियासँग अर्जेन्टिना पराजित भएको खेल रंगशालामै बसेर हेरेका स्यान्सुले भने ।
विश्वकप दौरान कतारमा सबै नियमित कामकाज स्थगनमा रहँदा घरेलु लिग पनि स्थगित थियो । उनको क्लबमा इङ्ल्यान्डको टोलीले अभ्यास गथ्र्यो । यही कारण आफ्नै क्लबमा पनि उनीहरुलाई जान वर्जित थियो । विश्वकप हेर्ने चटारोले दुई महिना स्यान्सुले फुटबल खेल्न पाएनन् । अभ्यास पनि रोकियो । प्रत्येक दिन टिकट हुँदा रंगशाला, नहुँदा फिफाको ‘फ्यान जोन’ धाउने र त्यसमै रमाएर उनका पनि दिन बिते ।
‘अब विश्वकप सकिएपछि चाहिँ अभ्यास सुरु भइसकेको छ । आउँदो हप्ताबाट लिग सुरु हुन्छ । विश्वकप हाम्रा लागि सिक्ने ठूलो ठाउँ हो । यहाँ देखिएका स्किलहरू लिगमा प्रयोग गर्ने योजना बनाएको छु,’ उनले योजना सुनाए ।