पोखरा राइनोजको नयाँ लोगो र जर्सी सार्वजनिक

काठमाडौं, (खेलाडी)- नेपाली क्रिकेटको सबभन्दा ठूलो फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) को टोली पोखरा राइनोजले अर्को शनिबारबाट सुरु हुने चौथो संस्करणका लागि क्लबको नयाँ लोगो र जर्सी सार्वजनिक गरेको छ । 

जीतको प्रतीक भन्दै सुन्तला रंग थपिएको पोखराको पछिल्लो लोगोमा गैंडाको टाउको देखाइएको छ भने माछापुच्छ्रे हिमाल मुनि ब्याट्स्म्यानले बल प्रहार गरेको पनि लोगोमा झल्काइएको छ ।

यसैगरी टोलीको नयाँ जर्सीमा पनि माछापुच्छ्रे हिमाल राखिएको छ । जर्सीको प्रायोजन सेभेन-अ ब्रान्ड वाइएमएस धोनीले गरेको छ । चौथो इपिएलका लागि पोखराको मुख्य प्रायोजकमा सौर्य सिमेन्ट, जगदम्बा सुपर साइन रहेको छ भने अधिकारिक प्रायोजकमा मित्सुुबिसी मोटर्स, एड्नोक र कान्तिपुर मिडिया रहेका छन् । हस्पिटालिटीको प्रायोजनमा याक एण्ड यती काठमान्डौ तथा क्लोज क्याम्प पार्टनरमा हायात रिजेन्सी रहेको क्लबले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

असोज २३ गतेसम्म किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा विभिन्न ६ सहरका फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा पोखरासँगै, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियोटस, विराटनगर वारियर्स, चितवन टाइगर्स र भैरहवा ग्लागिएटर्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ ।