प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता

आर्मीको रोमाञ्चक जित

काठमाडौं । राजेश पुलामीले सम्हालिएको ब्याटिङ प्रदर्शन गरेसँगै त्रिुभवन आर्मी क्लब नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै शुक्रबार प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले प्रस्तुत गरेको तीन सय पाँच रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा आठ विकेटको क्षतीमा पूरा गरेको थियो ।

राजेशले ३७ बलमा तीन चौका र दुई छक्का मद्दतमा अविजित ४३ रन जोडे ।

त्यस्तै रोहित चन्दले ८७ बलमा नौ चौका मद्दतमा ८९ रन जोड्दा ओपनर हरी चौहानले ९२ बला आठ चौका र एक छक्का मद्दतमा ७५ रन जोडेका थिए ।

पुलिसका करण केसीले ६ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै तीन सय चार रनको योगफल तयार पारेको थियो ।

६७–३ को स्थितीमा रहेको पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले चौथो  विकेटका लागि दुई सय चार रनको साझेदारी गरेसँगै पुलिसले सम्मानजनक योगफल खडा गरेको थियो ।

पुलिसले पुलिसका लागि दिपेन्द्रले एक सय २५ बलमा ११ चौका र पाँच छक्कामद्दतमा एक सय ४० रन जोडे । आरिफले एक सय नौ बलमा आठ चौका र दुई छक्का मद्दतमा अविजित ९१ रन जोडे ।

आर्मीका विक्रम सोबले तीन विकेट लिए ।

आर्मी प्रतियोगिताको साबिकको विजेता हो । गत संस्करणमा आर्मीले एपिएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो ।

आर्मीले शनिबार हुने फाइनलमा एपिएफको सामना गर्नेछ ।

एपिएफ बिहीबार मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।