साफ यु १५ महिला फुटबल च्याम्पियनसिप

नेपाललाई साफ यु १५ महिला च्याम्पियनसिपको उपाधि

काठमाडौं ।  गोलकिपर सुजता तामाङले अन्तिम मिनेटमा पेनाल्टी बचाएसँगै नेपालले शुक्रबार साफ यु १५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

तीन राष्ट्र मात्र सहभागी प्रतियोगितामा डबल राउन्ड रोबिन पद्धतिमा भएकाले शीर्ष स्थानमा रहने टाेली च्याम्पियन बन्ने थियाे । तीन खेलमा नाै अ‍क जाेडेकाे नेपाललाई बराबरीकाे नतिजा पनि उपाधि जित्न  पर्याप्त हुने थियो । बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपाल विजेता बन्यो ।

चार खेलमा तीन जित र एक बराबरीपछि १० अंकसहित शीर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन बन्यो ।  नेपाली महिला टोलीले जितेको यो पहिलो  अन्तर्राष्ट्रिय उपाधि हो ।समान खेलमा सात अंक जोडेको बंगलादेश उपविजेता बन्यो । भुटानले भने चार खेलमा अंक खाता खोल्न सकेन ।

पहिलो खेलमा भुटानलाई ७-० ले हराएको नेपालले दोस्रो खेलमा बंगलादेशलाई १-० ले निराश पारेको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको थियो । 

यता भुटानमाथिको दुई खेल क्रमशः ८-० र ९-० ले जितेको बंगलादेशलाई नेपालसँगको १-० को हार महंगो साबित भयो ।

१४औं मिनेटमा सुशिला केसीको गोलमा नेपालले अग्रता लिएको थियो । ५४औं मिनेटमा  रुमा अख्तरले बंगलादेशलाई खेलमा फर्काएका थिए । 

८९औं मिनेटमा बंगलादेशले पेनाल्टीको अवसर पाए पनि बिबि रिताले त्यसको सुदुपयोग गर्न सकिनन् । उनको प्रहार नेपालकी गोलकिपर सुजता तामाङले विफल पारेकी थिइन ।