आइसिसी ट्वान्टी२० विश्वकप

हतारमा निर्णय लिन्नः कप्तान बभुमा

सिड्नी । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले नेदरल्यान्ड्ससँग स्तब्ध हुँदै आइसिसी ट्वान्टी२० विश्वकपको सुपर १२ बाट बाहिरिए पनि तत्काल कप्तानी छोड्ने विषयमा भने केही नसोचेको प्रतिक्रिया दिएका छन् ।

सेमिफाइनल प्रवेशको संघारमा रहेको दक्षिण अफ्रिकाले अन्तिम खेलमा नेदरल्यान्ड्सलाई १३ रनको नतिजा सुम्पिएको थियो । दक्षिण अफ्रिकाको हारसँगै ग्रुप टु बाट सेमिफाइनल प्रवेश गर्ने दौडमा पाकिस्तान र बंगलादेश प्रवेश गरेका थिए । बंगलादेशलाई हराउँदै पाकिस्तान ग्रुप टु को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । यस समूहबाट भारत समूह विजेता बनेको थियो ।

सेमिफाइनलमा पाकिस्तानले ग्रुप वानको विजेता न्युजिल्यान्डको सामना गर्नेछ भने ग्रुप टु को विजेता भारतले ग्रुप वानको उपविजेता इङल्यान्डविरुद्ध खेल्नेछ ।

सुपर १२ का ५ खेलमा दक्षिण अफ्रिकाले मात्र दुई खेल जित्यो भने एक खेल बराबरीमा रोकियो । पहिलो खेलमा जिम्बाब्वेविरुद्ध वर्षाले खेल स्थगित भएपछि दक्षिण अफ्रिकाले अंक बाँडेको थियो । दोस्रो खेलमा भारतलाई हराएको दक्षिण अफ्रिकाले तेस्रो खेलमा बंगलादेशलाई हराएको थियो । चौथो खेलमा भने दक्षिण अफ्रिका पाकिस्तानसँग निराश भएको थियो ।

पछिल्लो संस्करणमा रनरेटमा पछि परेसँगै दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाउन सकेको थिएन ।

‘अहिले हतारमा म कुनै निर्णय लिन्न’, उनले भने, ‘हामी अप्रत्यासित हारपछि प्रतियोगिताबाट बाहिरिएका छौ । तर म तत्काल कप्तानको जिम्मेवारीबाट पछि हट्ने निर्णयमा पुगेको छैन ।’