इटालियन सिरी ए

इन्टरमाथिको युभेन्टसको जित

मिलान । निकोलो फाजीओलीले इटालियन सिरी ‘ए’ मा गोल खाता खोलेको दिन आइतबार युभेन्टसले इन्टर मिलानलाई २-० ले हराउँदै पाँचौ स्थानमा उक्लिएको छ ।

पाँचौ स्थानको युभेन्टसको १३ खेलमा २५ अंक छ । जुन चौथो स्थानको एट्लान्टा भन्दा मात्र दुई अंक कम हो भने तेस्रो स्थानको लाजियो भन्दा चार अंक कम हो । इन्टर भने समान खेलमा २४ अंकसहित सातौ स्थानमा झरेको छ । 

शीर्ष स्थानको नेपोलीको ३५ अंक छ भने दोस्रो स्थानको एसी मिलानको २९ अंक छ । 

५२औं मिनेटमा राबियोटको गोलमा युभेन्टसले अग्रता लिएको थियो । ८४औं मिनेटमा फाजीओलीले युभेन्टसको अग्रता दोब्बर पारेका थिए  ।

च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएपछि दबाबमा परेका युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीका लागि इन्टरमाथिको जितले राहत मिलेको छ । सिरी ‘ए’ मा युभेन्टसले लागातार चार खेल जितेको छ । 

इन्टरले सिरी ‘ए’ मा बुधबार बोलोग्नालाई आतिथ्यता गर्नेछ भने युभेन्टसले सोही दिन भेरोनाको भ्रमण गर्नेछ ।