आइसिसी ट्वान्टी २० विश्वकप

न्युजिल्यान्ड सेमिफाइनलमा, इङ्ल्यान्डको नतिजा पर्खिँदै अस्ट्रेलिया

सिड्नी । आयरल्यान्डलाई ३५ रनले पराजित गर्दै न्युजिल्यान्डले आइसिसी ट्वान्टी २० विश्कपको सेमिफाइनलमा स्थान बनाएको छ । शुक्रबार एडेलेड ओभलमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्रै बनाउन सक्यो । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ६१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यस्तै बलिङतर्फ ल्युक फर्ग्युसनले सर्वाधिक ३ विकेट लिएका थिए ।

शुक्रबार नै भएको अर्को खेलमा अफगानिस्तानविरुद्ध ४ रनको जितसँगै अस्ट्रेलिया पनि सेमिफाइनल नजिक पुगेको छ । यद्यपि, उसको सेमिफाइनल यात्रा भने अब इङ्ल्यान्डको हातमा छ ।

शनिबार हुने खेलमा इङ्ल्यान्ड श्रीलंकासँग पराजित भए मात्रै अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउने छ ।

शुक्रबार अस्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले अविजित अर्धशतकीय इनिङ खेलका थिए । बलिङतर्फ जोस हेजलवुड र आडम जाम्पाले २–२ विकेट लिएका थिए ।