कतार विश्वकप २०२२

टिम परिचय: विश्वकपमा आयोजकको पहिलो सहभागिता

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०१० को डिसेम्बर २ मा विश्वकप २०२२ कतारले आयोजना गर्ने घोषणा गर्यो । फिफाका तत्कालिन अध्यक्ष सेप ब्लाटरले विश्वकप आयोजकका रुपमा कतारको नाम घोषणा गर्दा सम्पूर्ण विश्व आश्चर्यचकित भयो ।

किन ? कारण धेरै छन् ।

कतार २७ लाखभन्दा कम जनसंख्या भएको देश हो र यी मध्ये पनि १५ प्रतिशत मात्रै कतारी हुन् । बाँकी ८५ प्रतिशत अप्रवासी हुन्, जसमध्ये अधिकांश आप्रवासी कामदारहरु अस्थायी रुपमा काम गरिरहेका छन् । विश्वकप आयोजकका रुपमा घोषणा भइरहँदा २०१० मा त कतारमा १७ लाख मानिसहरु मात्र थिए ।

विश्वकप आयोजना गर्ने सबैभन्दा सानो राष्ट्र हुनुको साथै कतारको फुटबल संस्कार पनि यसअघिका आयोजकको तुलनामा निक्कै कम छ । त्यतिबेलासम्म कतारमा विश्वकप गर्न सक्षम रंगशाला एउटामात्र थियो । विश्वकपका लागि आउने दशौं लाख दर्शकलाई आतिथ्य दिन कतारसँग आवश्यक पूर्वाधार थिएन । बनाउन जनशक्ति पनि पर्याप्त थिएन ।

पैसाको कमी नभएका कारण अन्य देशबाट कामदार ल्याउने विकल्प थियो । तर कतारी मरुभुमीको प्रचण्ड गर्मीका कारण निर्माण कार्य सुरक्षित थिएन । सबै चुनौती पन्छाउँदै १२ वर्षमा रंगशाला र अन्य आवश्यक पूर्वाधार बनाए पनि विश्वकपपछि ती रंगशाला के गर्ने भन्ने प्रश्न पेचिलो थियो । छ । किनकी ३० लाखभन्दा कम मानिसको बसोबास भएको देशमा यति धेरै खेल पूर्वाधार प्रयोग नहुने निश्चित छ ।

तर, फिफा र  कतारका लागि यी सबै विषयहरु अब अतित बनिसकेका छन् । मध्यपूर्वको सानो तर धनी देशले यी सबै प्रश्नको उत्तर दिइसकेको छ । कतार, विश्वकप आयोजनाको एकदमै नजिक पुगेको छ । राजधानी दोहाको ५५ वर्ग किलोमिटरको दायरा भित्र आठ रंगशाला तयार भइसके । प्रचण्ड गर्मीका कारण फिफाले प्रतियोगिता जुन–जुलाईबाट नोभेम्बर–डिसेम्बरमा सारिसकेको छ ।

केही वर्ष अघिसम्म पनि असम्भव मानिँदै आएको विश्वकप आयोजनाको अभियानलाई कतारले आगामी मंसिर चारबाट सम्भव पार्दैछ । तर कसरी ?

यसको जवाफ खोज्न १२ वर्ष पछाडि फर्कनु पर्छ । कतारले विश्वकप आयोजना गर्नुमा एसियाली फुटबल महासंघ (एएफसी)का तत्कालिन अध्यक्ष मोहम्मद बिन हमामको ठूलो भूमिका छ । कतारमा विश्वकप लैजाने अभियानका उनी नायक थिए ।

हमाम त्यतीबेला फिफा अध्यक्ष सेप ब्लाटरका उत्तराधिकारी थिए । हमामकै प्रभावका कारण फिफा कार्यसमितिका २२ सदस्यबीच भएको मतदानमा अमेरिकालाई पछि पार्दै कतारले विश्वकप आयोजनाको अधिकार हासिल गरेको थियो ।

विश्व खेलकुद इतिहासकै सर्वाधिक विवादास्पदमध्ये एक मानिएको यो घटनाका कारण तत्कालिन फिफा कार्यसमितिका २२ मध्ये १५ सदस्यहरुले भ्रष्टाचारको आरोप सामना गर्नु पर्यो । लहरो तान्दा पहरो गर्जियो भनेजस्तै त्यसपछि भएको भ्रष्टाचारको छानविनले विश्व फुटबलका धेरै हस्तीहरुलाई कठघरामा उभ्यायो ।

विभिन्न राष्ट्रिय फुटबल संघका प्रभावशाली पदाधिकारीहरु भ्रष्टाचारको आरोपमा प्रतिबन्धित भए । तिनमा कतारलाई विश्वकप आयोजनाको अधिकार दिलाउने ‘नायक’ हमाम पनि थिए । कतारले विश्वकप आयोजनाको अधिकार पाउँदाका फिफा अध्यक्ष ब्लाटर पनि थिए ।

विदेशी कामदारको अधिकार हननको विषयलाई लिएर पनि कतारले चर्को आलोचना सहनुपर्यो । मरभूमीको असह्य गर्मीमा काम गर्दा पनि विदेशी कामदारलाई स्थापित मापदण्डअनुसारका कुनै पनि सुविधा नदिएको भन्दै कतारमाथि श्रम शोषणको आरोप थियो ।

कुनै पनि आयोजक राष्ट्रले यति धेरै आलोचना र आरोप सामना गरेको यो नै पहिलो पटक हो । त्यसैले पनि कतारलाई विश्वकपको सफल आयोजना गर्ने चुनौती छ । त्यसोत कतारले २२औं संस्करण अहिलेसम्मकै उत्कृष्ट विश्वकप बनाउने दाबी गरिरहेको छ ।

आफैले आयोजना गर्नुअघिसम्म एक पटक पनि विश्वकपको अनुभव लिन नपाएको कतार एकमात्र देश हो । १९७१ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको कतारले १९७७ मा पहिलो पटक विश्वकप छनोट खेलेको थियो ।

स्तवन्त्र हुनुअघि नै १९६० मा कतार फुटबल संघ (केएफए) स्थापना भइसकेको थियो । स्थापनाको १० वर्षपछि १९७० मा केएफएले फिफाको आधिकारिक सदस्यता लियो । एसियाली फुटबल महासंघ (एएफसी)को सदस्यता भने कतारले १९७२ मा लिएको थियो । आधिकारिक सदस्यता लिएको ५२ वर्षपछि आगामी मंसिर चार गते अल बायात रंगशालामा हुने २२औं संस्करणको उद्घाटन खेलमा कतार पहिलो पटक विश्वकपको मैदानमा उत्रिनेछ ।

विश्वकपमा कतारको पहिलो खेल इक्वेडरविरुद्ध हुनेछ । त्यसपछि कतारले त्यसपछि मंसिर ९ मा सेनेगल र १३ गते नेदरल्यान्ड्ससँग खेल्दै समूह ‘ए’ बाट नकआउट चरण पुग्ने प्रयास गर्नेछ ।

अन्तर्राष्ट्रिय फुटबलमा कतारले यसअघि तीन पटक (सन् १९९२, २००४ र २०१४) आठ देश सम्मिलित अरेबियन गल्फ कप तथा एक पटक २०१९ मा एसियन कपको उपाधि जितेको छ ।

१९८१ मा कतारले फिफा विश्व युवा च्याम्पियनसिप (हालको यु–२० विश्वकप) मा उपविजेता भएको देशले गत वर्ष एएफसी युथ च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो । चार दशकअघि ब्राजिली प्रशिक्षक एभ्रिस्टोमसेदोको नेतृत्वमा ब्राजिल र इङ्ल्यान्डलाई हराउँदै फाइनल पुगेको कतारी युवा टोली उपाधि भिडन्तमा पश्चिम जर्मनीसँग निराश भएको थियो । कतारी फुटबलको उत्कर्षका रुपमा लिइने त्यो प्रतियोगिता र त्यसका सहभागी खेलाडीलाई अहिले पनि सम्मानका साथ स्मरण गरिन्छ ।

यसवाहेक १९८४ को लस एन्जल्स ओलम्पिकमा छनोट हुनु, त्यसको आठ वर्षपछि बार्सिलोना ओलम्पिकमा क्वार्टरफाइनल पुग्नु, २००६ मा भएको घरेलु एसियाली खेलकुदमा स्वर्ण पदक जित्नु कतारी फुटबलले हासिल गरेका सफलता हुन् ।

२००० को सुरुआतसँगै केएफएले पुरुष फुटबललाई बलियो बनाउने योजना ल्यायो । त्यसका लागि विदेशी खेलाडीलाई नागरिकता दिएर आफ्नो टिमबाट खेलाउने नीति अंगालियो । त्यसबेला जर्मन बुन्डेसलिगामा व्यावसायिक फुटबल खेलिरहेका ब्राजिलियन खेलाडीहरु एल्टन, डिडे र लियान्ड्रोलाई कतार फुटबल संघले देशको नागरिकता दिएर राष्ट्रिय टोलीबाट खेल्न प्रोत्साहन गर्ने प्रयास गर्यो । तर, फिफाले कडा नियमहरु ल्याउँदै कतारको कदममा हस्तक्षेप गर्यो ।

नागरिकताको कुरामा कतार सामान्यतया कडा छ । तर पनि कतारले त्यसबेला प्रतिभावान विदेशी खेलाडी भित्र्याउनका लागि कानुनमा संशोधन चाहेको थियो । २००४ को मार्चमा फिफाले खेलाडीको अन्तर्राष्ट्रिय फुटबलका लागि देश रोज्न पाउने नियममा संशोधन गर्दै कम्तिमा दुई वर्ष प्रतिनिधित्व गर्न चाहेको देशमा बसोबास गर्नुपर्ने व्यवस्था लागु गर्यो ।

फिफाको यो नयाँ नियमसँगै कतारले २००४ पछि थुप्रै विदेशी खेलाडीलाई कतारी लिगमा भित्र्यायो र दुई वर्षपछि देशको नागरिक बनायो । फ्रान्सका आमिन लकाम्ट, उरुग्वेका सेवास्टियन सोरिया, पोर्चुगलका पेड्रो मिगेल, सेनेगलका मोहम्मद कासोला लगायतका खेलाडीले यसैगरी कतारी नागरिकता लिएर मध्यपूर्वको देशबाट अन्तर्राष्ट्रिय फुटबल खेले ।

२००४ मा कतारले आफ्ना खेलाडीहरुको विकासको निमित्त एस्पायर एकेडेमीको स्थापना गर्यो । एस्पायर एकेडेमीले भावी पुस्ताको लागि व्यवस्थित कार्यक्रम गर्दै आएको छ । एकेडेमीले कतारमा वार्षिक पाँच हजार ११ वर्षका बालकहरु छानेर ल्याउँछ र सरकारी खर्चमा उनीहरुको पठनपाठनका साथै फुटबल प्रशिक्षणको व्यवस्था गर्छ ।

एकेडेमीको मुख्य उद्देश्य कतारी युवाहरुलाई स्वदेशमै विकास गर्ने र त्यसपछि विदेशमा थप प्रशिक्षणका लागि हो । यसका लागि एकेडेमीले केही युरोपियन क्लबसँग भगिनी सम्बन्ध स्थापना गरेको छ । आफूले आंशिक वा पूर्ण स्वामित्व ग्रहण गरेका युरोपेली क्लबबाट उच्चस्तरीय प्रशिक्षण गराएर खेलाडीलाई राष्ट्रिय टोलीका लागि लायक बनाउने प्रयासको सुरुआत भइसकेको छ ।

कतारले एसियन कप जित्नुमा पनि यसैलाई कारण मानिन्छ । युरोपका विभिन्न क्लबबाट निखारिएका प्रतिभाबीचको प्रतिस्पर्धाबाट छानिएको राष्ट्रिय टोली भएकाले कतारले एसियाली स्तरमा राम्रो प्रदर्शन गर्न सक्यो । २०१४ मा एकेडेमीकै खेलाडी सम्मिलित टोलीले एफसी यु–१९ च्याम्पियनसिपको उपाधि जितेको थियो । पाँच वर्षपछि त्यहि पुस्ताले एफसी एसियन कप २०१९ को उपाधि जितेको थियो । घरेलु मैदानमा अर्को महिना विश्वकप खेल्नका लागि त्यही पुश्ता तिखारिएर बसेको छ ।

विदेशका राम्रा प्रतिभालाई नागरिकता दिने र युवा फुटबलमा लगानी गर्ने नीति प्रभावकारी हुँदा विश्व फुटबलमा बामे सर्दै गरेको कतार एसियन च्याम्पियन भइसकेको छ । अब पालो विश्वकपमा राम्रो प्रदर्शनको ।

२०१९ एसियन कपका सर्वाधिक गोलकर्ता आल्मोएज अलीको जन्म सुडानमा भएको हो । उनी २००६ देखि २०१३ सम्म एस्पायर एकेडेमीबाट दिक्षित भएका थिए । त्यसैगरि एसियन कप जिताएका प्रशिक्षक फेलिक्स सान्चेज स्पेनका हुन् । बार्सिलोनाको युवा टोली सम्हालेपछि उनी २००६ मा एस्पायर एकेडेमीमा सामेल भए । पछि उनकै नेतृत्वमा कतारले यु–१९ एफसी च्याम्पियनसीप र एसियन कप जित्यो ।

उनै फेलिक्सको नेतृत्वमा कतारले घरेलु भूमिमा विश्वकप खेल्दैछ । पहिलो पटक विश्वकप खेल्दै गर्दा नतिजा जस्तो सुकै आए पनि त्यो कतारी फुटबलका लागि एउटा नयाँ अध्याय भने पक्कै हुनेछ ।

विश्वकपमा कतार:

विरुद्ध इक्वेडर (अल बायात रंगशाला)
मंसिर चार गते, राति ९ः४५ बजे

विरुद्ध सेनेगल (अल थुमामा रंगशाला)
मंसिर ९ गते, साँझ ६ः४५ बजे

विरुद्ध नेदरल्यान्ड्स (अल बायात रंगशाला)
मंसिर १३ गते, राति ८ः४५ बजे

हेर्न लायक खेलाडीः अल्मोएज अली

आफ्नो पहिलो विश्वकपमा समूह चरणभन्दा अगाडि बढ्ने हो भने कतारका लागि स्ट्राइकर अल्मोएज अली चल्नु आवश्यक छ । अन्तर्राष्ट्रिय फुटबलमा उनले ८३ खेल खेल्दै ४० गोल गरिसकेका छन् ।

कतारी क्लब अल दुहेलबाट खेल्ने २६ वर्षका फरवार्ड तीन वर्षअघि कतारले एसियन कप जित्दाका मुख्य हतियार हुन् । संयुक्त अरब इमिरेट्समा भएको एसियन कपमा ९ गोल गर्दै गोल्डेन बुट जितेका अलीमाथि यसपाली पनि सम्पूर्ण कतारी समर्थकको आशा टिकेको हुनेछ । सेन्ट्रल फरवार्ड अलीलाई अग्रपंक्तिमा कप्तान हसन अल हैदोस र अक्रम अफिफले साथ दिनेछन् ।