मार्शल आर्टस

उमा कुङफु टोली भारततिर

काठमाडौं । इन्डो-नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन तारकेश्वर उमा कुङफु स्कुलको ६ खेलाडीसहितको सात सदस्यीय टोली शुक्रबार भारतको पन्जाब गएको छ ।

शनिबार र आइतबार हुने प्रतियोगितामा नेपाली टिमबाट दुई पुरुष र चार महिला खेलाडीले उमा कुङफु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष ५० देखि ५५ केजी तौल समूहमा आर्यन रावल र राजन तामाङ, महिला ५० देखि ५५ केजीमा साइना महर्जन, महिला २५ देखि ३० केजीमा सिम्रिका कुँवर, महिला ३० देखि ३५ केजीमा दर्शना तामाङ र महिला ४५ देखि ५० केजीमा प्रशंसा लामाले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रशिक्षकमा तारकेश्वर उमा कुङफु स्कुलका मुख्य प्रशिक्षक एवं नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जन छन् ।

टोलीलाई तारकेश्वर नगरपालिका वडा नम्बर दुईका अध्यक्ष राधाकृष्ण खड्गी, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने, खेलप्रेमीद्वय इन्द्रमान महर्जन र शिव कुँवरलगायतले विदाइ गरे ।

तारकेश्वर उमा कुङफु स्कुलका सहायक प्रशिक्षक सञ्जयराज पुटुवारले यहि प्रतियोगितका लागि २ महिनादेखि अभ्यास गरिरहेकाले सहभागी सबैले स्वर्ण पदक जित्ने विश्वास व्यक्त गरे ।