ट्वान्टी२०

भारतलाई शृंखला

नयाँ दिल्ली । सुर्यकुमार यादव र विराट कोहलीको उत्कृष्ट ब्याटिङप्रेरित भारतले अस्ट्रेलियामाथि ६ विकेटको जितसहित तीन ट्वान्टी२० खेलको शृंखला २-१ लेआफ्नो पक्षमा पारेको छ ।

अस्ट्रेलियाले प्रस्तुत गरेको एक सय ८७ रनको लक्ष्य भारतले १९.५ ओभरमा मात्र चार विकेट क्षतीमा पूरा गरेको थियो । 

३०–२ को स्थितीमा ब्याटिङका लागि आएका कोहलीले यादवसँग तेस्रो विकेटका लागि एक सय चार रनको साझेदारीसहित भारतलाई सहज जिततर्फ डोहोर्याएका थिए । 

कोहलीले ४८ बलमा तीन चौका र चार छक्का प्रहार गर्दा यादवले ३६ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । 
अस्ट्रेलियाका ड्यानियल साम्सले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८६ रनको योगफल खडा गरेको थियो ।

अस्ट्रेलियाका क्यामरुन ग्रिनले आक्रामक ब्याटिङ गर्दै २१ बलमा सात चौका र तीन छक्कासहित ५२ रन बनाए । यस्तै, टिम डेविडले पनि २४ बलमा दुई चौका र चार छक्कासहित ५४ रन बनाए । यसबाहेक, टिमको खातामा ड्यानियल साम्सले २८ र जस इङ्लिसले २४ रन थपे ।

भारतका अक्षर पटेलले सर्वाधिक तीन विकेट लिए । यस्तै, युजवेन्द्र चहल, भुवनेश्वर कुमार र हर्षल पटेलले एक विकेट लिए ।