प्रशिक्षक नियुक्तिमा क्यानको मनोमानी, आफैले राखेको मापदण्ड पालना भएन 

काठमाडौं, (खेलाडी)- नेपाल क्रिकेट संघ (क्यान) ले आफै गरेको विज्ञापन विपरित विभिन्न प्रदेशमा गरी १० जना स्थानीय प्रशिक्षक नियुक्त गरेको थाहा भएको छ । 

क्यानले गत वर्ष भदौ १८ गते राष्ट्रिय टिमको मुख्य प्रशिक्षक, महाप्रवन्धक, प्रमुख वित्त अधिकारी, क्रिकेट व्यवस्थापक तथा सातै प्रदेशमा एक/एक स्थानीय प्रशिक्षकका लागि विज्ञापन प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो । 

क्यानले स्थानीय प्रशिक्षकका उम्मेदवारहरुका लागि २० दिनभित्र आवेदन दिइसक्न पनि सुचित गरेको थियो । तर विज्ञापन गरेको एक वर्ष पूरा हुन लाग्दा समेत क्यानले प्रशिक्षक नियुक्त गरेको निर्णय सार्वजनिक गर्न सकेको छैन । जवकि क्यानले आफ्नै विज्ञापन विपरित प्रशिक्षक नियुक्त गरेको स्रोतले खेलाडीलाई जानकारी गराएको छ । 

क्यानले विज्ञापनमा सबै प्रदेशमा एक/एक स्थानीय प्रशिक्षक नियुक्त गर्ने भने पनि सबैभन्दा विकट र प्रशिक्षकको आवश्यकता भएको कर्णाली प्रदेशमा एक जना पनि नियुक्त गरेन । जवकि क्यानका अध्यक्ष चतुरबहादुर चन्दको गृह प्रदेश सुदूरपश्चिममा तीन तथा प्रदेश दुई र लुम्बिनीमा दुई/दुई प्रशिक्षक नियुक्त गरेको छ । 

क्यानले यही भदौ १८ गते नै प्रदेश एकमा पुश्प थापा, प्रदेश दुईमा प्रकाश शर्मा र सुनीलकुमार शाह, बाग्मतीमा संजय महर्जन, गण्डकीमा रिजन प्रजु, लुम्बिनीमा जमिल अहमद अन्सारी र वशन्त शाही तथा सुदूर पश्चिममा वीरेन्द्र शाह, जानकी भट्ट र खेमराज भट्टलाई नियुक्त गरेको स्रोतले जानकारी गरायो ।

क्यानले विज्ञापनमा सबै प्रदेशमा एक/एक स्थानीय प्रशिक्षक नियुक्त गर्ने भने पनि सबैभन्दा विकट र प्रशिक्षकको आवश्यकता भएको कर्णाली प्रदेशमा एक जना पनि नियुक्त गरेन । जवकि क्यानका अध्यक्ष चतुरबहादुर चन्दको गृह प्रदेश सुदूरपश्चिममा तीन तथा प्रदेश दुई र लुम्बिनीमा दुई/दुई प्रशिक्षक नियुक्त गरेको छ । 

स्रोतका अनुसार सुदूरपश्चिममा यसअघि नै क्यानका एक प्रशिक्षक थिए । क्यानले नियुक्त गरेको देशभरीकै पहिलो प्रशिक्षकका रुपमा दीपेन्द्रबहादुर चन्द सुदूरपश्चिममा कार्यरत थिए । त्यसमा एक महिलासहित तीनजना थपिएपछि सुदूरपश्चिममा अब स्थानीय प्रशिक्षक संख्या चार पुगेको छ । 

महिला क्रिकेटको उर्भरभूमिका रुपमा स्थापित लुम्बिनी र प्रदेश एकमा चाँही त्यसतर्फ क्यानले कुनै वास्था गरेको छैन ।

क्यानले गत वर्ष सातै प्रदेशका लागि एक/एक जना पूर्णकालिन स्थानीय प्रशिक्षकको लागि विज्ञापन गर्दा आवेदकहरुमा लेभल वान प्रशिक्षण कोर्स वा मान्यताप्राप्त निकायबाट सोसरहको अन्य कुनै कोर्स गरेको, हाल प्रशिक्षणमा काम गरिरहेकोलाई प्राथमिकतामा राखिने, २५ देखि ५५ वर्ष उमेरको नेपाली नागरिक हुनुपर्ने लगायतका योग्यता तोकेको थियो । 

क्यानको विज्ञापनअनुसार विभिन्न प्रदेश तथा विदेशबाट समेत गरी २४ जनाले स्थानीय प्रशिक्षकका लागि आवेदन दिएका थिए । यसरी आवेदन दिनेमा प्रदेश एकबाट राजकुमार प्रधान, पुश्प थापा, राजेश पोखरेल र लाक्पा लामा थिए । 

गत वर्ष भदौमै २० दिनको समय राखेर आवेदन माग गरेको क्यानले प्रशिक्षक चयनका लागि यसपाली जेठ एक गतेमात्र अन्तरवार्ता गरेको थियो । 

प्रदेश दुईबाट जहुर अन्सारी, दीलिप यादव र सुनीलकुमार शाहले आवेदन दिएका थिए भने बागमतीबाट संजय महर्जन, शेर लामा र परेश लोहनीको आवेदन परेको थियो । यसैगरी गण्डकीबाट दीपेश खत्री र रिजन प्रजु, लुम्बिनीबाट दूर्गाराज सेन, वशन्त शाही र जमिल अहमद अन्सारी, कर्णालीबाट नरेशसिंह थापा तथा सुदूर पश्चिमबाट दिपेन्द्रशहादुर चन्द, विरेन्द्र शाह, जानकी भट्ट, खेमराज भट्ट र ज्ञानेन्द्र क्षेत्रीले आवेदन दिएका थिए । यसैगरी बेलायतबाट रहिम अली र भारतबाट राहुल सहनीले पनि स्थानीय प्रशिक्षकका लागि आवेदन दिएका थिए ।

गत वर्ष भदौमै २० दिनको समय राखेर आवेदन माग गरेको क्यानले प्रशिक्षक चयनका लागि यसपाली जेठ एक गतेमात्र अन्तरवार्ता गरेको थियो । 

योग्यता नपुगेको वा समयमा सबै कागजात पेश नगरेको भन्दै क्यानले अन्तरवार्तामा सात आवेदकलाई बोलाएन । अन्तरवार्तामा जम्मा १७ जनालाई बोलाइएको थियो । 

प्रदेश एकबाट राजकुमार प्रधान, पुश्प थापा, लाक्पा लामा र राजेश पोखरेल थिए भने प्रदेश दुईबाट जहुर अन्सारी, दीलिप यादव, प्रकाश शर्मा र सुनीलकुमार शाह, बागमतीबाट शेर लामा र संजय महर्जन, गण्डकीबाट रिजन प्रजु र दीपेश खत्री, लुम्बिनीबाट जमिल अहमद अन्सारी र वशन्त शाही तथा सुदूरपश्चिमबाट विरेन्द्र शाह, जानकी भट्ट र खेमराज भट्टलाई अन्तरवार्तामा बोलाइएको थियो ।

अन्तरवार्तामा क्यानले क्रिकेट खेलेको अनुभवलाई १० अंक, प्रशिक्षणको अनुभवलाई १०, क्यानको निर्देशनअनुसार देशका विभिन्न स्थानमा भ्रमण गर्न देखाएको इच्छाका आधारमा १०, प्रतिभा चिन्ने र विभिन्न प्रतिभा पहिचान कार्यक्रम गर्न सक्ने तथा प्रतिभालाई निखार्ने क्षमतालाई १० अंक, अन्तरवार्तामा गरेको प्रस्तुतिलाई १० अंक दिने बताएको थियो । 

क्यान नेतृत्वमा रहनेहरुका केही आफ्ना मान्छेले लेभल वान कोर्स गरेका थिएनन् । उनीहरुलाई लेभल वान गर्ने मौका दिनका लागि भनेर जानाजान ढिलाई गरिएको हो

अन्तरवार्तामा सामेल भएका एक प्रतिस्पर्धिले आफ्ना मान्छे नियुक्त गर्नका लागि जानाजान क्यान नेतृत्वले छनोट प्रक्रियामा ढिलाई गरेको आरोप लगाए । 

‘क्यान नेतृत्वमा रहनेहरुका केही आफ्ना मान्छेले लेभल वान कोर्स गरेका थिएनन् । उनीहरुलाई लेभल वान गर्ने मौका दिनका लागि भनेर जानाजान ढिलाई गरिएको हो,’ उनले भने, ‘मलाई अहिलेसम्म कुनै औपचारिक जानकारी गराइएको छैन । मनोमानी ढंगले प्रशिक्षक नियुक्त गर्दा कसैलाई काखा र कसैलाई पाखा गरिएको छ ।’

केही आवेदकहरुले लेभल वान कोर्स गरेका कारण पहिला उनीहरुलाई त्यो कोर्स गराएरमात्र अन्तरवार्ता गरिएको उनको आरोप छ । 

‘कुनै प्रदेशमा एउटा पनि छैन । तर अध्यक्षको सुदूरपश्चिममा तीन जना नियुक्त गर्नुपर्ने कारण के हो ? विज्ञापनमा सबै प्रदेशबाट एक/एक जना भनेपछि त्योभन्दा फरक तरिकाले काम गर्न पाइन्छ र,’ उनले चेतावनी दिए, ‘क्यानले मनोमानी ढंगमा गरेको यस्तो नियुक्ति कदापी स्वीकार्य हुँदैन । उनीहरुले सार्वजनिक गर्नेवित्तिकै हामी न्याय माग्न अदालत जानु पर्न सक्छ ।’