नवौं राष्ट्रिय खेलकुद

खेल्नै नपाइ बाहिरिनुको पिडा, ९ क्लबले सदस्यसचिवलाई बुझाए ध्यानाकर्षण पत्र

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जारी पुरुष क्रिकेट वर्षाका कारण खेल्न नपाएपछि नौ क्लबले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङको ध्यानाकर्षण गराएका छन् ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भदौं २३ गतेदेखि सुरु भएको पुरुष क्रिकेट प्रतियोगितामा समूह चरणका कुल २५ खेलमध्ये १६ खेल नतिजा विहीन भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा जारी प्रतियोगिताको मुलपानी क्रिकेट मैदानमा गराउने तय भएको ११ खेल टससमेत नभइ खेल रद्द भएको थियो । यसैकारण नौ टिमले आठ बुँदे ध्यानाकर्षण पत्र सदस्यसचिव घिसिङलाई बुझाएका हुन् ।

प्रतियोगितामा सहभागी ११ टिममध्ये (बागमती प्रदेश, गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लब) तीन क्लबले चार खेलमा एक खेल पनि खेल्न नपाइै बाहिरिएको साथै अन्य प्रदेश तथा विभागीय टोलीले समेत पुरै खेल खेल्नबाट वञ्चित भएको उक्त पत्रमा लेखिएको छ ।

यसैगरी ध्यानाकर्षण पत्रमा मौसम पुर्वानुमानअनुसार अबका खेलहरु पनि संचालन हुनेमा आशा नभएको, हालकै खेल तालिका अनुसार नै संचालन गर्दा र मौसमले साथ नदिंदा सम्पूर्ण प्रतियोगितामा पाँच ओभर मात्र खेलेको टिमलाई स्वर्ण पदक विजेता साथै संयुक्त रुपमा दुई वटा टिमले एकै ईभेन्टमा स्वर्ण पदक संख्याको वर्गीकरणमा समेत असर पर्ने र सान्दर्भिक नहुने उल्लेख छ ।

नौ क्लबहरुले खेल र खेलाडीहरुको भावना विपरीत कुनै पनि खेल नखेली प्रतियोगिताबाट बाहिरिनुलाई कुन दृष्ट्रिकोणबाट हेर्ने प्रश्न समेत गरेका छन् ।