नवौं राष्ट्रिय खेलकुद

पुलिस फाइनलमा, स्वर्णका लागि आर्मीसँग खेल्ने

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा एनआरएनए एकेडेमीलाई १३ रनले पराजित गर्दै पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गर्यो ।

चिसो मैदानका कारण आठ ओभरमा घटाइएको खेलमा पुलिसले प्रस्तुत गरेको एक सय ११ रनको विशाल लक्ष्य पछ्याएको एआरएनएले तीन विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो ।

एनआरएनएका कप्तान सुनम गौतमले सर्वाधिक ४५ रन बनाए । यस्तै, सागर पुनले ३७ रन जोडे ।

पुलिसका योगेन्द्रसिंह कार्कीले दुई विकेट लिँदा पवन सर्राफले एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको पुलिसले निर्धारित आठ ओभरमा ६ विकेट गुमाएर एक सय १० रनको योगफल तयार गरेको थियो ।

पुलिसका आरिफ शेखले सर्वाधिक ३६ रन बनाए । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले १८ र कुशल भुर्तेलले १२ रन जोडे ।

एनआरएनएका दीवस गिरीले दुई विकेट लिए । यसबाहेक, दीपक क्षेत्री, सुनम गौतम र दीनेश खरेलले समान एक विकेट लिए ।

अब पुलिसले शुक्रबार स्वर्ण पदकका लागि आर्मीसँग खेल्नेछ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कार्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका रहे पनि सोही समयमा नेपाल टी २० लिग हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको हो ।