नेपाली फुटबल

बंगलादेशविरुद्धको मैत्रीपूर्णको खेलमा टिकट ५०० र १०००

फाइल फोटो

काठमाडौं । दशरथ रंगशालामा हुने बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर साधारण र भिआइपीको क्रमशः पाँच सय र एक हजार रुपैयाँ राखेको छ ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले असोज ११ गते बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । एन्फाले बिहीबार पत्रकार सम्मेलनमार्फत खेलका लागि एन्फा उपाध्यक्ष विराजजंग शाहीलाई संयोजकको जिम्मा दिइएको जनाएको छ ।

एन्फाका अनुसार खेलका लागि बंगलादेशी टिम असोज सात गते नेपाल आइपुग्ने छ । एन्फाले मैत्रीपूर्ण खेलका लागि ४८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

एन्फाले खेलका लागि मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल अधिकार विक्रीका सम्बन्धमा विभिन्न व्यापारिक संस्थाहरुसँग छलफल भइरहेको जनाएको छ ।

नेपालले एएफसी एसियन कप तेस्रो चरणको छनोटपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । खेलका लागि एन्फाले प्रदीप हुमागाँईलाई कार्यवाहक प्रशिक्षकको जिम्मा दिएको छ ।

मैत्रीपूर्ण खेलको घोषणा हुँदा नेपाली टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी थिए । तर, उनी विदामा रहेका कारण एन्फाले हुमागाँईलाई प्रशिक्षणको जिम्मा दिने निर्णय गरेको थियो । यद्यपि, अहिले भने अल्मुताइरीले नेपाली टिमको प्रशिक्षकबाट राजीनामा दिइसकेका छन् । उनले आइतबार नेपाली टिमको प्रशिक्षण छोडेको घोषणा गरेका थिए ।