सन्दीप लामिछाने

सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको जानकारी दियो ।

भदौं २३ गते प्रहरी वृत गौशालामा जबरजस्ती करणीको जाहेर परेको र थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जीसमेत जारी भइसकेको अवस्थामा कार्यसम्पादन समितिले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।

सन्दीपमाथि उमेर नपुगेकी एक किशोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । ट्वान्टी २० र एकदिवसीय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ पाँच गते सन्दीपले ती किशोरीलाई विभिन्न स्थान घुमाएर राति सिनामंगलको एक होटलमा लगी जवरजस्ती करणी गरेको आरोप छ ।

केन्याबाटै ट्वान्टी २० शृंखला सकिएपछि एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअघि नै क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सन्दीप जमैका पुगिसकेका छन् । सिपिएलमा उनले यसपाली जमैका तालाबाजसँग सम्झौता गरेका छन् ।