दशरथ रंगशाला

१० दिनभित्र बहाल कर बुझाउन रंगशालालाई महानगरको पत्र

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदलाई दशरथ रंगशाला परिसरमा विभिन्न संरचना बनाई भाडामा लगाएवापतको बहाल कर बुझाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।

महानगरपालिकाले बिहीबार दशरथ रंगशालाको नाममा पत्र काट्दै १० दिनभित्र सम्बन्धित वडा कार्षलयमा बहाल आम्दानीको विवरणसहित बहाल कर र जरिवानासमेत बुझाउन निर्देशन दिएको छ । तोकिएको मितिमा कर र जरिवाना नतिरे कार्वाही गर्ने चेतावनी दिइएको छ । महानगरले रंगशालासहित ६ ठाउँलाई १० दिनभित्र बहाल कर बुझाउन पत्रचार गरेको छ ।

‘आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा कार्यलयबाट बहाल कर बुझाउन पटक–पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझाएको हुँदा त्यहाँको बहाल आम्दानीको विवरणसहित यस पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यलयमा गई नियमानुसारको बहाल कर र सो को जरिवानासहित बुझाउनु हुन अनुरोध छ,’ महानगरपालिकाले पठाएको पत्रमा लेखिएको छ, ‘अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी सरकारी बाँकी सरह बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने व्यहोरा जानकारीको लागि अनुरोध छ ।’

महानगरपालिकाले रंगशालासँगै शंकरदेव क्याम्पस, पुतलीसडक, आर आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, सरस्वती बहुमुखी क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई पनि १० दिनभित्र कर तिर्न पत्रचार गरेको छ ।