नेपाली राष्ट्रिय क्रिकेट टोली

ब्याटिङमा सुधार मेरो पहिलो प्राथमिकताः मनोज प्रभाकर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरले आफ्नो पहिलो प्राथमिकता  ब्याटिङमा सुधार गर्ने  रहेको बताएका छन् ।

सोमबार प्रशिक्षकमा नियुक्त भएका प्रभाकर शनिबार काठमाडौं आइपुगेका थिए । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रभाकरले कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  खेलाडीको ब्याटिङ हेरेको र त्यो सन्तोषजनक नरहेको बताए । उनले अधिकांश खेलाडीले ब्याटिङ गर्ने क्रममा प्रयोग गर्ने गरेको टेक्निक गलत भएको  बताए । 

‘मैले नेपाली खेलाडीहरुको ब्याटिङ हेरे, जुन सन्तोषजनक छैन’, प्रभाकरले भने, ‘त्यसैले मेरो पहिलो योजना भनेको ब्याटिङमा सुधार ल्याउने हो । प्राविधिक रुपमा पनि उनीहरु अब्बल पाइन । आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ । हामीले ११ खेलको नतिजा सुम्पिइसकेका छौ। आठ खेल मात्र जितेका छौ भने एक खेल टाई भएको छ । हामी १७ अकंसहित तालिकाको छैटौं स्थानमा छौ । त्यसैले अब बाँकी १६ खेलमा हामी सुखद नतिजा ल्याउने लक्ष्यमा छौ ।’

‘टोली एकताले नै सफलता हात पार्ने हो’, नेपाली टोलीमा पछिल्लो समय चर्चा चलेको गुट उपगुटतर्फ संकेत गर्दै प्रभावकरले भने, ‘हामी सबै एकै परिवारको सदस्य हौ । टोलीमा केही समस्या छ भने हामीले त्यसको समाधान गर्दै जानुपर्छ ।’

नेपालले आगमी महिना केन्याविरुद्ध पाँच ट्वान्टी२० र तीन एक दिवसीय शृंखला खेल्ने तालिका रहेको छ ।