श्याम थापा

पूर्व प्रशिक्षक श्याम थापासँग खेलाडी डटकमको अन्तरक्रिया

काठमाडौं । खेलाडी डटकमले नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक तथा दक्षिण एसियाली महान् फुटबलर श्याम थापासँग आइतबार अन्तरक्रिया गरेको छ । खेलाडी डटकमले हाम्रो फुटबल नेपालसँगको सहकार्यमा आइतबार दिउँसो थापासँग होटल रोयल सिङ्गीमा ‘श्याम थापासँग फुटबलका कुरा’ कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले श्याम थापा जस्तो लिजेन्डसँग अन्तरक्रिया गर्न पाउँदा भाग्यशाली साबित गरेको बताए ।

‘श्याम थापाको बारेमा मैले धेरै सुनेको र पढेको छु, वहाँको खेल हेर्न त मैले पाइँन,’ अध्यक्ष गुरुङले भने, ‘तर, अन्तरक्रिया गर्न पाउँदा एकदमै भाग्यमानी महसुस गरेको छु ।’

हाम्रो फुटबल नेपालका हाल १८ वटा जिल्लामा संगठन रहेको जानकारी दिँदै अध्यक्ष गुरुङले सधैँ आफ्नो संस्था फुटबलको हितमा हुने कार्यक्रममा संलग्न हुन तयार रहेको बताए ।

खेलाडी डटकमका प्रबन्ध सम्पादक अजय फुयालले मोडरेट गरेको कार्यक्रमका दौरान थापाले आफ्नो बाल्यकाल, जन्मभूमी गुल्मी, इस्ट बंगाल र मोहन बगान, भारतीय राष्ट्रिय टिम, प्रशिक्षक जीवन जस्ता विषयमा आफ्नो अनुभव बाँडेका थिए ।

दुई घण्टा चलेको कार्यक्रममा नेपाली फुटबल कर्मीहरु– हरी खड्का, विकास मल्ल, सन्जीव मिश्र, बाल गोपाल महर्जन, प्रदीप महर्जन, राजीव श्रेष्ठ, अशोक मानन्धर, गौरिमान राई, टासी घले लगायतको उपस्थिति थियो ।