नेपाली क्रिकेट

नेपालको बिर्सनलायक ब्याटिङ, स्कटल्यान्डसामू १२९ रनको लक्ष्य

एडिनबर्ग । खराव ब्याटिङले निरन्तरता पाउँदा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टिमसामू एक सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टिटउड क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २८ रनको योगफल तयार गर्यो ।

नेपालको ब्याटिङमा ओपनर आसिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै कप्तान सन्दीप लामिछानेले २२ रन बनाउनुबाहेक नेपालको कुनै पनि ब्याटरको इनिङ सम्झनलायक रहेन ।

नेपालका अर्का ओपनर कुशल भुर्तेल तीन रनमा आउट हुँदा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका देव खनाल १० रनमा पभेलियन फर्किए । यस्तै, चौथो नम्बरका रोहित पौडेल पनि १० रनमा आउट हुँदा पाँचौ नम्बरका दीपेन्द्रसिंह ऐरीले पनि टिमको खातामा सात रनमात्र थप्न सके । यसबाहेक, विनोद भण्डारीले १३ रन जोड्दा करण केसी सात रनमा आउट भए ।

सोमपाल कामी सात रनमा आउट हुँदा डेब्युट्यान्ट किशोर महतो सुन्य रनमा अविजित रहे ।

नवौं नम्बरमा ब्याटिङका लागि आएका सन्दीपले दुई चौका प्रहार गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए ।

नेपाललाई सस्तैमा समेट्न स्कटल्याडका हम्जा ताहिरले चार विकेट लिए । यस्तै मार्क वाटले तीन विकेट  र गाभिन मेनले दुई विकेट लिँदा क्रिस्टोफर म्याकब्राइडले एक विकेट लिए ।

लिग २ अन्तर्गतको त्रिदेशीय शृंखलाका लागि स्कटल्यान्ड पुगेको नेपाली टिम पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा स्टकल्यान्डलाई पाँच विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुन नामिबियासँग ६३ रनले पराजित भएको थियो ।

लिग तालिकाको १९ खेलमा १७ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।