एन्जल्स एसइइ कप

न्यु जेनिथलाई एन्जल्स बास्केटबलको उपाधि

काठमाडौं । न्यु जेनिथ ‘बी’ ले प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्रतर्फ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मनमैजुस्थित आयोजक एन्जल्स्स हार्ट कलेजको कोर्टमा आइतबार सम्पन्न फाइनलमा न्यु जेनिथ ‘बी’ ले रित एकेडेमीलाई १८-१५ ले हरायो ।

यसअघि भएको सेमिफाइनलमा न्यु जेनिथ ‘बी’ ले नवज्योतिलाई ९–६ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । दोस्रो सेमिफाइनलमा रितले ग्रिनल्यान्ड ‘बी’ लाई १५–९ ले हराउँदै न्यु जेनिथ ‘बी’ सँगको भेट पक्का गरेको थियो ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १० हजार र सात हजार रुपैंया प्राप्त गरे । न्यु जेनिथ ‘बी’ का अमृत भट्टराई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेता र उपविजेता टिमका सदस्यले एन्जल्स हार्टमा माध्यमिक शिक्षा अध्ययन गर्न चाहेमा क्रमशः  सतप्रतिशत, ७५ प्रतिशत र सहभागी सबै टिमका खेलाडीलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

दुईदिनसम्म चलेको प्रतियोगितामा ६६ टिमले नकआउट पद्दतिमा प्रतिस्पर्धा गरेका थिए ।