आइसीसी विश्वकप क्रिकेट लिग २

सुखद अन्त्यको लक्ष्यमा नेपाल

काठमाडौ । बलिङमा सम्झलायक प्रदर्शन गरे पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको नेपाल आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा आज स्कटरल्यान्डको सामना गर्दा प्रर्दशनमा सुधारका साथ शृंखलामा सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ । 

नेपालले हाल सम्म स्कटल्यान्ड भ्रमणमा तीन खेल खेल्दा एक खेल जितेको छ भने दुई खेल गुमाएको छ । 

शृंखलाको पहिलो खेलमा नामिबियालाई ४० रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो ।जुन नेपालले एक दिवसीय खेलमा स्कटल्यान्डमाथि निकालेको पहिलो जित थियो ।  तेस्रो खेलमा भने नेपाल नामिबियासँग पराजित भएको थियो । 

तालिकामा १९ खेल खेलेर १७ अंक जोडेको नेपाल छैटौं  स्थानमा छ । नेपालले लिग २ मा अझै १९ खेल्न बाँकी छ । यसक्रममा नेपालले ८ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र १० खेलमा पराजय बेहोरेको थियो ।

तालिकाको शीर्षस्थानमा रहेको ओमानले लिग २ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अंक जोडेको छ । दोस्रो स्थानको स्कटल्यान्डले २३ खेलबाट ३२, तेस्रो स्थानको संयुक्त अरब इमिरेट्स (युएई) ले २२ खेलबाट २६, चौथो स्थानको अमेरिकाले २४ खेलबाट २३, पाँचौ स्थानको नामिबियाले १८ खेलबाट १८ र पुछारमा रहेको पपुवा न्युगिनी (पिएनजी) ले २० खेलबाट २ अंक जोडेका छन् ।