ब्राजिल क्रिकेट

फुटबलप्रति ‘पागल’ देश ब्राजिलमा लय समाउँदै क्रिकेट

ब्रासिलिया । ब्राजिलको एउटा गरिब पहाडी क्षेत्रमा एउटा निश्चित मैदान छ । जहाँ उत्साहित बच्चाहरु उच्च गतिमा बललाई पछ्याउँदै छन् ।

फुटबलमा ‘पागल’ मानिने देशमा यसरी क्रिकेटमा लागेको दृश्य निकै कमै मात्र देख्न पाइन्छ । उनीहरु आफ्नो देशमा चर्चित गोलपोस्टलाई छोडेर क्रिकेटको ब्याट, बल र फिल्डिङमा रमाइरहेका छन् ।

यो दृश्य एक लाख ७० हजारको जनघनत्व बोकेको ब्राजिलको पोकोस डे क्यालडासको हो । विश्व फुटबलका महारथी पेले र विश्वका उत्कृष्ट खेलाडी नेयमारजस्तो खेलाडीलाई जन्माएको देशको अहिले क्रिकेटप्रति लगाव देखिएको छ ।

सबै कुरालाई बेवास्ता गर्दै ब्राजिल अहिले क्रिकेटमा केन्द्रीत बन्दै गइरहेको छ । क्रिकेटमा ब्राजिलले विशेष गरी महिला राष्ट्रिय टोलीलाई प्राथमिकतामा राखेको छ । महिला टोली सन् २०२० मा व्यावसायिक रुपमा अनुबन्ध गरियो । साथै विश्वमा पुरुषभन्दा अगाडि महिला टिमलाई ‘प्रो’ बनाउने पहिलो देश बन्यो ।

त्यहाँका अधिकांश खेलाडीले क्रिकेट ब्राजिलद्धारा सञ्चालित ६३ सामुदायिक युवा कार्यक्रमहरुबाट खेल खेल्न सिकेका हुन् । जसको अध्यक्षमा तथा पूर्व क्रिकेट खेलाडी म्याट फेदरस्टोन छन् । उनी दुई दशकअघि ब्राजिलियन महिलासँग विवाह गरेर त्यहाँ बसाँइ सरेका थिए ।

‘ब्रजिलियनहरुलाई क्रिकेट खेलाउन खोज्दा मेरो श्रीमतीलाई म पागल छु जस्तो लाग्छ,’ ५१ वर्षका फेदरस्टोनले भने ।

तर, उनको करिश्मा र सामुदायिक भावनाले यहाँ अहिले क्रिकेटले विस्तारै गति लिँदै छ । पोकोस डे क्यालडासको मेयर सर्जियो अजेभेडोले भने, ‘ब्राजिलको यो एकमात्र सहर हो, जहाँ बच्चाहरु फुटबलभन्दा क्रिकेट खेल्छन् ।’

जब फेदरस्टोन सन् २००० मा ब्राजिलमा आए, उनले आफ्नो क्रिकेटप्रतिको मायाँ निजी विद्यालयमा फैलाउन प्रयास गरे । तर, चाँडै थाहा पाए कि उनले रग्बी, हक्की र अन्य खेलहरुसँग टक्कर लिइरहेका छन् ।

तर, गरिब सहरमा जहाँ फुटबल वा फुटबलभन्दा अर्काे विकल्प थिएन । उनले त्यहाँको परिवारलाई नयाँ खेलमा लाग्न कार्यक्रमहरु गरे ।

इङ्ल्यान्डमा क्रिकेट धनी व्यक्तिले खेल्ने खेलको रुपमा उदाएको थियो । ‘यहाँ हामीसँग क्रिकेट खेलको संस्कृती बसाल्न मात्र खाली कागज थियो,’ फेदरस्टोनले भने ।

‘सुरुमा यसको राम्रो प्रभाव थिएन,’ ३६ वर्षकी महिला क्रिकेट टोलीकी कप्तान रोर्बटा मोरेट्टीले पहिलो पटक टेलिभिजनमा क्रिकेट हेरेको प्रतिक्रिया दिदै भन्छिन्, ‘मैले बुझेको थिइन् । खेलाडीहरुले लगाएको सेतो लुगा मात्र हेरेको थिए ।’

तर, उनले ब्राजिलको सडकमा ‘ब्याट’ र ‘टाको’ भनेर खेल्ने खेल र क्रिकेट उस्तै रहेको कुरा याद गरेकी थिइन् ।

१९औं शताब्दीमा ब्राजिलको रेलमार्ग निमार्ण गर्दा ब्रिटिसले क्रिकेट खेलेको देखेपछि ब्राजिलका दासहरुले यो खेल खेल्न लागेका थिए । उनीहरुले ब्याटको लागि कुचोको लाठी र विकेटको लागि बोतलहरुको प्रयोग गरे ।

ब्रासिलको उत्साह र खुलापनमा क्रिकेटले जितेको मोरेट्टी अभेरीले बताइन् ।

ब्राजिलले क्रिकेटमा आफ्नै छाप लगायो । ब्राजिलियन महिला टिमले प्रशिक्षण गर्नुअघि मैदानमा गगंटोको स्यान्डवीच र चिया खाँदै ठूलो आवाजमा पार्टी गर्छन् ।

‘यहाँ क्रिकेटको विकास गर्ने तरिका धेरै राम्रो थियो । हामीले यसमा रमाइलो ग¥यौ,’ मोरेट्टी अभेरीले भनिन् ।

क्षितिज विस्तार गर्दै

सन् २००९ मा सामूदायिक परियोजनाहरु लागू गरेर पोकोस डी क्यालडासले पाँच हजार क्रिकेट खेलाडीहरु उत्पादन गरेको छ ।

क्रिकेट ब्रासिलले ३० हजार खेलाडी उत्पादन गर्न र अरु ठाउँहरुमा पनि क्रिकेट विकास गर्न चाहन्छ । कतिले त अन्तर्राष्ट्रिय मान्यता पनि पाएका छन् ।

अक्टुबरमा १६ वर्षकी अलराउन्डर लोरा कार्डोसोलाई एक खेलपत्रकारले चमत्कारीक प्रदर्शन भन्दै विश्वको हेडलाइन बनायो ।  ब्राजिलले अन्तिम ओभरमा कार्डोसोले ६ बलमा ह्याट्रिकसँगै पाँच विकेट लिँदा ब्राजिलले ट्वान्टी २० क्रिकेट क्वालिफायरमा क्यानडामाथि एक रनको नाटकीय जित हासिल गरेको थियो ।

यो ब्राजिलका लागि अन्तर्राष्ट्रिय महिला ट्वान्टी २० क्रिकेटमा कहिल्यै पुरा नभएको उपलब्धि हो ।

दुबईमा व्यावसायिक क्रिकेट खेलेर फर्किएकी शक्तिशाली शारीरिक बनावट भएकी एथलेट कार्डाेसो विश्वको उत्कृष्ट खेलाडीमध्येकी एक बन्न सक्ने फेदरस्टोन बताउँछन् । कार्डोसो अहिले १७ वर्षकी भइन् ।

‘हे भगवान्, मैले त्यहाँ के गरे ?’ सहरी सरकारले दानमा दिएको राष्ट्रिय टिमको प्रशिक्षण केन्द्र अगाडि कार्डोसोले हाँस्दै भनिन् ।

क्रिकेटमा धेरै ठूलो लक्ष्य लिएको ब्राजिल महिला टोली अहिले आइसिसीको ट्वान्टी २० अन्तर्राष्ट्रिय वरीयताको २८औं स्थानमा छन् । ब्राजिल महिला टोलीले दक्षिण अमेरिकन च्याम्पियनसिपको पाँच खेलमा चार खेल जितेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिष्द र प्रायोजकहरुको साथले नै यो सफलता पाएको फेदरस्टोनले बताए ।

क्रिकेट ब्रासिलले एक दशकअघि पाँच हजार डलर रहेको वार्षिक बजेट बढाएर तीन सय ५० हजार डलर पु¥याएको छ । संघले प्रशिक्षकको प्रशिक्षण सुरु गर्न र उदीयमान खेलाडीहरुलाई विश्वविद्यालय पठाउन भनेको छ ।

२० वर्षकी लिन्डसे मारियानोको जसरी नै ब्राजिलमा अहिले क्रिकेटले खेलाडीको जीवनमा परिवर्तन ल्याइरहेको छ ।

‘क्रिकेट खेल्नुअघि मेरो पासपोर्ट थिएन,’ अफ्रिकन टुरको लागि जारी राष्ट्रिय टिमको प्रशिक्षणको क्रममा उनले भनिन्, ‘तर, क्रिकेटको कारण म आज विश्वभर भ्रमण गर्न सक्ने भएको छु, धन्यवाद क्रिकेट !’