नेपाली क्रिकेट

लिग २ः ओमानसँग नेपाल पराजित

ह्युस्टन । एकपटक फेरी ब्याटिङमा चुक्दा नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको छ ।

अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट रंगशालामा ओमानले दिएको दुई सय १२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ९८ रन मात्र बनाउन सक्यो ।

नेपालका आरिफ सेखले सर्वाधिक ६६ रन बनाए । आरिफले ७९ बलमा ६ चौका प्रहार गरेका थिए । यसबाहेक देव खनालले ३४, रोहित पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले १६, विनोद भण्डारीले १४ र सोमपाल कामीले १३ रन बनाए ।

नेपालको ब्याटिङमा पुनः ओपनिङ जोडी चल्न सकेनन् । नेपालले ४० रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो ।

ओमानका जिसन मक्सुद र खवर अलिले समान तीन विकेट लिए । यस्तै, विलाल खानले दुई विकेट लिँदा अयान खानको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ११ रनको योगफल तयार पारेको थियो ।

ओमानका कप्तान मक्सुदले सतकीय इनिङ खेलेका थिए । अविजित एक सय चार बनाएका मक्सुदले एक सय २६ बलमा १२ चौका प्रहार गरे ।

यस्तै, खवर अलिले ३०, सोएब खानले २७ र सुरज कुमारले टिमको खातामा १२ रन जोडे ।

नेपालका करण केसीले सर्वाधिक पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका करणले ३८ रन खर्चिएका थिए । यसबाहेक कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिए ।

जितसँगै लिग २ को शीर्ष स्थानमा रहेको ओमानले ३४ खेलबाट ४२ अंक जोडेको छ । तालिकाका छैटौं स्थानमा रहेको नेपालले १३ खेलबाट १२ अंक जोडेको छ ।