वडा अध्यक्ष कप खुला भेट्रान फुटबल

फ्रिडमको मिश्रित प्रदर्शन

काठमाडौं । फ्रिडमले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको पहिलो दिन बिहीबार मिश्रित प्रदर्शन गरेको छ ।

चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा फ्रिडम ‘ए’ ले खान भाइ खलकलाई ४-० गोलले पराजित गर्दै विजयी सुरुआत गर्यो । उक्त खेलमा दुई गोल गरेका विजेताका विकर्ण श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । फ्रिडमको ‘बी’ टिमलाई भने जगंवीर युनाइटेडले १-० गोलले हरायो । विजयी टिमका कप्तान विकास कार्की ‘म्यान अफ द म्याच’ चुनिए ।

काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा नुवाकोट दरबार र बौद्ध भेट्रान ‘बी’ ले पनि सफलता पाए ।

नुवाकोटले एएफसीमाथि ८–२ को सहज जित दर्ता गर्यो । नुवाकोटका मनु गौतम ‘म्यान अफ द म्याच’ ठहरिए । उनले २ गोल गरे । बौद्धले आयोजक चावहिल ‘ए’ लाई ३-० ले निराश पार्यो । बौद्धका गोलरक्षक राजेन्द्र गौतम ‘म्यान अफ द म्याच’ बने ।

प्रतियोगिताको युवा नेता गगनकुमार थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका मोफसलका दुईसहित १५ पुरुष टिम सहभागी छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । सिक्स ए साइड नकआउट प्रतियोगिताको फाइनल जेठ ३१ गते हुनेछ ।