रणजी ट्रफी

ओपनरदेखि ९ नम्बरसम्मका ब्याटरले अर्धसतक बनाएपछि ....

नयाँदिल्ली । विश्वमै क्रिकेटका लागि चर्चित मुलुक भारतमा हरेक दिन क्रिकेटमा रोमाञ्चक घटना भएको सुन्न पाइन्छ । अहिले पनि क्रिकेटमा विरलै हुने घटना भारतमा भएको छ ।

हाल जारी रणजी ट्रफीको क्वार्टरफाइनल खेलमा बंगालको टिमले विश्व क्रिकेटमा अनौठो कीर्तिमान कायम गरेको छ । बंगालका टिमका ओपनरदेखि नवौं नम्बरसम्मका सबै ब्याटरले अर्धसतक बनाएका छन् । अझ यसमध्ये दुई ब्याटरले सतक बनाएका थिए ।

बंगाल र झारखण्डबीच बेंगलुरुमा भएको खेलमा यो कीर्तिमान कायम भएको हो ।

बंगालले सात सय ७३ रनमा आफ्नो इनिङ समाप्त भएको घोषणा गरेको थियो । यसबेला बंगालले सात विकेट गुमाएको थियो । अर्थात ब्याटिङका लागि मैदान उत्रिएका नौ जना ब्याटरले नै ५० रनभन्दा माथिको योगदान गरे ।

बंगालको इनिङमा सुदीपकुमार घरामीले सर्वाधिक एक सय ८६ रन बनाएका थिए । यसबाहेक, ए मजूमदारले एक सय १७ रनको इनिङ खेले ।

बंगाल टिमको स्कोरबोर्ड

१. अभिषेक रमन – ६१ रन

२. अभिमन्यु इश्वरन – ६५

३. सुदीपकुमार घरामी – १८६ रन

४. ए मजूमदार – ११७ रन

५. मनोज तिवारी – ७३ रन

६. अभिषेक पोरेल – ६८ रन

७. शहबाज अहमद – ७८ रन

८. सायन मन्डल – ५३ रन अविजित

९. आकाश दीप – ५३ रन अविजित