मिथाली राज

२३ वर्षे करियरबाट विश्राम लिने मिथालीको घोषणा

नयाँदिल्ली । भारतीय क्रिकेट महिला क्रिकेट टिमकी मुख्य सदस्य मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छिन् ।

मिथाली पछिल्लो २३ वर्षदेखि भारतको प्रतिनिधित्व गर्दै आइरहेकी थिइन् । बुधबार ३९ वर्षको उमेरमा मिथालीले अन्तर्राष्ट्रिय क्रिकेटको तीनै संरचनाबाट सन्यास लिने घोषणा गरेकी हुन् ।

मिथाली भारतीय टिमबाट एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने क्रिकेटर हुन् । यस्तै, कप्तानको रुपमा सर्वाधिक खेल जिताउने कीर्तिमान पनि उनैको नाममा छ ।

मिथालीले आज ट्विटरमा एक लामो विज्ञप्तिसहित सन्यासको घोषणा गरेकी हुन् ।

‘मैले भारतीय टिमको निलो जर्सी लगाएर देशको प्रतिनिधित्व गर्दा म बच्चै थिए । यो यात्रा निकै लामो रह्यो जहाँ मैले सबैखाले परिस्थितीको सामना गरे,’ मिथालीले ट्विटरमा लेखेकी छिन्, ‘पछिल्लो २३ वर्ष मेरो जीवनको सबैभन्दा उत्कृष्ट पलहरुमध्येका थिए । सबै यात्राहरु जस्तै यो यात्रा पनि समाप्त हुँदैछ र आज म अन्तर्राष्ट्रिय क्रिकेटका तीनै संरचनाबाट सन्यास लिने घोषणा गर्छु ।’