नेपाली क्रिकेट

युगान्डालाई नेपालले दियो १०० रनको लक्ष्य

काठमाडौं । पाँच खेलको ट्वान्टी २० शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपालले पाहुना टोली युगान्डाविरुद्ध एक सय रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९९ रनको योगफल तयार गर्यो ।

नेपालको ब्याटिङमा तीन ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके । टोलीको खातामा ओपनर ज्योती पाण्डेले सर्वाधिक ४७ रन जोडिन् । ज्योतीले ५४ बलमा पाँच चौका प्रहार गरिन् ।

यसबाहेक, कप्तान रुविना क्षेत्रीले १५ बलमा दुई चौकासहित १८ रन जोड्दा सिता रानामगरले २५ बलमा एक चौकाको सहयोगमा १२ रन जोडिन् ।

युगान्डाका फिओना कुलुमे र कोन्सी अवेको र सराह अकिटेङले समान दुई विकेट लिए । यस्तै, रिता मुसामाली र जनेत एम्बाबाजीले एक–एक विकेट लिए ।