ज्ञानेन्द्र मल्ल

नेपालबाट ज्ञानेन्द्रको त्यो नै अन्तिम इनिङ थियो ?

काठमाडौं । आइसिसी विश्वकप लिग २ खेल्न अमेरिका जाने टिममा नअटाएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको अन्तर्राष्ट्रिय क्रिकेट करियर करिब टुङ्गिको देखिन्छ ।

मल्लले अन्तिम पटक नेपालको जर्सी मार्चमा लगाएका थिए । मार्चमा २१ मा मल्लले लिग २ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) को दुवईमा घरेलु टोलीविरुद्ध एकदिवसीय खेल खेलेका थिए । उक्त खेलमा मल्लले नेपाली टोलीको खातामा ६५ बलमा दुई चौकासहित ३० रन जोडेका थिए ।

मल्ल यसअघि घरेलु मैदानमा भएको जिम्बावे ‘ए’ विरुद्धको ट्वान्टी २० र एकदिवसीय शृंखलामा पनि टोलीमा अटाएका थिएनन् । र, अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै स्थान बनाउने लक्ष्यमा रहेको नेपाली टिमको आगामी योजनामा मुख्य प्रशिक्षक पुबुदु दासानायकेले मल्ललाई समोवेश गरेका छैनन् ।

नेपालले जुन ९ देखि अमेरिका र ओमानसम्मिलित त्रिदेशीय शृंखला खेल्दैछ । तर, लिग २ तालिकाको छैटौं स्थानमा आसिन नेपालले कुल ३६ खेलमध्ये अझै दुई तिहाई खेल खेल्न बाँकी छ ।

मल्लको बहिर्गमनले नेपाली टोलीमा सन्दीप लामिछानेको सहयोगका लागि नयाँ उपकप्तान नियुक्त गर्नै पर्ने देखिएको छ । डिसेम्बरमा ३१ वर्षीय मल्लको स्थान लिएका सन्दीपले कप्तानको जिम्मेवारी पाएका थिए ।

सन् २००५ को आइसिसी यु १९ ट्वान्टी २० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका मल्लले २००६ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

सन् २००९ मा भएको नेपालको पहिलो ट्वान्टी २० खेल मल्लको पनि उपस्थिती थियो । यस्तै, सन् २०१८ को पहिलो मान्यता प्राप्त एकदिवसीय खेलमा पनि मल्ल टोलीका महत्वपूर्ण सदस्य थिए । उनले सन् २०१९ मा तत्कालिन कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा दिएपछि टोलीको नेतृत्व सम्हाल्ने मौका पाएका थिए ।

मल्लले लिग २ मा नेपालका लागि तीन अर्धशतक बनाएका छन् । लिग २ मा हालसम्म २८.६० को औसतमा दुई सय ८६ रन बनाएका छन् । लिग २ मा ३५.५७ को औसतमा दुई सय ४९ रन बनाएका रोहित पौडेल अहिले टिममा परेका ३० भन्दा बढिको औसतमा रन बनाउने एक मात्र खेलाडी हुन् ।

नेपालले लिग २ अहिलेसम्म एक दर्जन खेल खेल्दा २३ खेलाडी प्रयोग गरेको छ । जसमध्ये कप्तान लामिछाने र करण केसी मात्र लिग २ का सबै खेल खेल्ने खेलाडी हुन् ।

नेपाली टिमले धेरै प्रयोग गरे पनि ब्याटिङ समस्या अझै उस्तै छ । र, बलिङमा नेपालले उल्लेखनीय सुधार गर्न सकेको छैन ।

ज्ञानेन्द्रकै थर भएका अर्का ब्याटर कुशल मल्ल पनि टिममा अटाउन सकेनन् । यसबाहेक, पछिल्लो एकदिवसीय खेल खेलेका पवन सर्राफ र भीम सार्कीले पनि टिमको अन्तिम १५ का लागि प्रशिक्षक दासानायकेको मन जित्न सकेनन् ।

सुनिल धमला पुनः टिममा समेटिँदा मोहम्मद आदिल अन्सारी र किसोर महतोले टिममा डेब्यु गर्न सक्नेछन् ।

टेक्सासस्थित मुसा रंगशालाले लगातार दुई क्रिकेट शृंखला आयोजना गर्दैछ । जहाँ नेपाल र ओमानले भ्रमण गर्नुअघि स्कटल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई) ले घरेलु टोलीसँग शृंखला खेल्ने तालिका छ ।

नेपाली टिमः सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, मोहम्मद आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किसोर महतो, सागर ढकाल ।