नेपाल टी २०

नेपाल टी२० असोज दोस्रो सातादेखि सुरु हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक प्रतियोगिता नेपाल टी२० असोज दोस्रो हप्तादेखि सुरु हुने भएको छ ।

बुधबार क्यानले पत्रकार सम्मेलनमार्फत युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रतियोगिता असोज आठ गतेदेखि सुरु हुने घोषणा गरेका हुन् ।

‘आज नेपालको आधिकारीक टी२० क्रिकेट लिगको घोषणा गर्न पाउँदा म निकै खुसी छु । विश्व क्रिकेटमा नेपालको पनि आधिकारी टी२० लिगको देख्न पाउँनु सम्पूर्ण नेपालीको लागि गर्वको कुरा हो,’ गहतराजले भने, ‘नेपाल टी२० बाट क्रिकेटमा लागेका युवाहरुको आफ्नो सपना पूरा गर्दै नेपालले आगामी ट्वान्टी २० विश्वकप खेल्ने मा विश्वस्त छु । म क्यान, राष्ट्रिय खेलकुद परिषद् र सेभेन थ्री स्पेर्टसलाई सफल समझादारीको कामना गर्दछु ।’

क्यानले लिग आठ गतेदेखि कार्तिक पाँच गतेसम्म सञ्चालन हुने जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संघका आधिकारिक लिगको मिति र प्रतियोगिता घोषणा गर्न पाउँदा खुसी भएको बताए ।

प्रतियोगिता कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम एण्ड अवेका आधारमा हुने चन्दले बताए । यस्तै उनले प्रतियोगितासँग क्यान आर्थिक रुपमा बलियो हुने विश्वास लिएको बताए । टिमको नाम र घोषणा १५ दिनपछि गर्ने बताए ।