प्रशिक्षक-खेलाडी विवाद

खेलाडी–प्रशिक्षक विवादः समितिले बुझायो २८ पृष्ठको प्रतिवेदन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीबीचको विवाद समाधानका लागि गठित तीन सदस्यीय समितिले बुधबार प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक भिक्टोर सम्शेर राणाले अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाए । २८ पृष्ठ लामो प्रतिवेदनमा समितिले विभिन्न ९ वटा फरक शीर्षकमा आफ्ना राय समेटेको बताइएको छ ।

एएफसी एसियन कप तेस्रो चरणको छनोटका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीका सिनियर खेलाडी र प्रशिक्षकबीचको विवादका कारण खेलाडीलाई बन्द प्रशिक्षणबाट निकालिएको थियो । आवश्यक पौष्टिक आहार र सुविधायुक्त बसोबास माग गरेपछि क्रुद्ध बनेका प्रशिक्षक अल्मुताइरीले खेलाडीहरुलाई प्रशिक्षण शिविर छोड्न उर्दी जारी गरेका थिए ।

राष्ट्रिय टोलीका रोहित चन्द, विमल घर्तिमगर, सुजल श्रेष्ठ, अन्जन बिष्टसहित १० सिनियर खेलाडी र होटलको विषयमा विवाद भएपछि प्रशिक्षक अल्मुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै खेलाडीहरुले बन्द प्रशिक्षण छोडेका थिए ।

राष्ट्रिय टोलीका मुख्य १० खेलाडी एकैपटक निकालिएको घटनाले नेपाली फुटबलमा ठूलो विवाद सिर्जना भए पनि एन्फाले त्यसको १० दिनपछिमात्र छानविन समिति गठन गरेको थियो । अघिल्लो आइतबार गठित छानविन समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने समय दिइएको थियो । तर स्थानीय निकायको निर्वाचनका कारण समितिले आजमात्र प्रतिवेदन बुझाएको हो ।

छानविनको क्रममा समितिले सबै खेलाडी, प्रशिक्षक तथा एन्फा पदाधिकारीहरुसँग बयान लिएको थियो ।