एन्फा चुनाव

एन्फा निर्वाचनः उम्मेदवार चयनमा सकस

काठमाडौं । स्थानीय निर्वाचनले छायाँमा पारेको अखिल नेपाल फुटबल संघ (एन्फा)को राजनीतिक सरगर्मी आफ्नै चुनावको प्रक्रियामा प्रवेश गर्ने तयारीमा फेरि बढ्न थालेको छ ।

आगामी चार वर्षे कार्यकालका लागि आगामी असार ६ गते हुने निर्वाचनका लागि जेठ सात गते शनिबारसम्ममा उम्मेदवारी दर्ता गराइसक्नुपर्नेछ । चार वर्षअघि निर्वाचित भएदेखि नै अर्को चुनावको लागि दुई ध्रुवमा विभाजित फुटबलकर्मीहरु अहिले उम्मेदवारी दर्ता गराउने अन्तिम तयारीमा पुगेका छन् ।  

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा दुई पक्ष पूरा प्यानलसहित नै निर्वाचनमा आमनेसामने हुने तयारी सुरु भएको धेरै भइसक्यो । तथापि दुवै प्यानलले अध्यक्षमा वाहेक अन्य पदमा कसकसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन ।

पूरा प्यानलसहित निर्वाचनमा उत्रिने रणनीतिअनुसार दुवै पक्षले आजबाट औपचारिक रुपमा विभिन्न पदमा उम्मेदवारहरुको चयनका लागि छलफल सुरु गरेको जानकारहरुले खेलाडीलाई जानकारी गराएका छन् । संस्थापन पक्षबाट आगामी कार्यकालका लागि पनि अध्यक्षमा शेर्पालाई नै अघि सारेको छ भने असन्तुष्ट समूहको नेतृत्व गर्दै नेम्वाङले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

अन्य पदमा उठाउने व्यक्तिको छनोटले अध्यक्ष पदको चुनावी परिणामलाई समेत प्रभावित पार्न सक्ने भएकाले दुवै पक्षलाई उम्मेदवार चयनको सकस छ । टिम बनाउँदा राम्रो तालमेल हुन सकेन भने त्यसले पूरा चुनावको माहोल नै परिवर्तन गर्न सक्छ । आकांक्षी धेरै हुनु र सबैलाई पद नभई नहुने मानसिकताका कारण त्यसको व्यवस्थापन अहिले दुवै पक्षको लागि सम्वेदनशील बनेको छ ।

अन्य पदका लागि दुवै पक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लागिसकेको छैन । शेर्पा पक्षबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुलीको चर्चा बढि छ भने वर्तमान उपाध्यक्ष उपेन्द्रमान सिंह पनि दोस्रो वरियताको पदका आकांक्षी हुन् । उपाध्यक्षमा कुमार केसी र प्रदेशसिंह राठोरको पनि सम्भावना रहेको बताइएको छ । यसैगरी रत्नकुमार श्रेष्ठ, पूर्णमान चित्रकार, मदुसुदन उपाध्याय, विज्ञानराज शर्मालगायतको उम्मेदवारी पर्ने चर्चा छ ।

‘आकांक्षीहरु धेरै छन् । तर कसलाई कुन पदमा उठाउने भन्ने पक्का भइसकेको छैन । हामी छलफलको चरणमा छौं । जसले जुन पदमा उम्मेदवारी दिए पनि हामी एकढिक्का भएर चुनावी मैदानमा उत्रिन्छौं,’ शेर्पा पक्षका एक पदाधिकारीले खेलाडीसँग भने, ‘पछिल्लो चार वर्षे कार्यकालमा हामीले गर्न खोजेका धेरै कामहरु अधुरा छन् । त्यसलाई पूरा गर्नका लागि पनि जित्ने गरी टिम बनाएर अगाडि बढ्छौं ।’

शेर्पा पक्षको आजै निर्णायक छलफल हुने उनले बताए ।

नेम्वाङ पक्षबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्का र उपाध्यक्षमा विराटजंग शाहीको उम्मेदवारी पर्ने पक्का भइसकेको बताइएको छ । यसवाहेक किरण राई, अनिल मल्ल, दावा लामा, रविन्द्र चन्द, दीपक खतिवडा, भोजराज शाहीलगायतको पनि विभिन्न पदमा उम्मेदवारी पर्ने बताइएको छ ।

‘अरु पनि धेरै आकांक्षी हुनुहुन्छ । फुटबलमा लामो समयदेखि योगदान गर्नुभएका पदाधिकारीहरु आगामी दिनको भिजनसहित अगाडि आउनुभएको छ । हामी छलफलको चरणमा छौं,’ नेम्वाङ पक्षका एक पदाधिकारीले भने ।

एन्फाको वर्तमान कार्यसमिति १७ सदस्यीय भए पनि आगामी निर्वाचनले २१ सदस्यीय कार्यसमितिको चयन गर्नेछ । जसअनुसार अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिलासहित १५ सदस्यका लागि निर्वाचन हुनेछ । निर्वाचित कार्यसमितिले महासचिव र कोषाध्यक्ष नियुक्त गर्नेछ ।