ट्वान्टी २० अन्तराष्ट्रिय शृंखला

युगान्डाविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले युगान्डाविरुद्ध आजदेखि सुरु हुने ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा टस जितेर फिल्डिङ रोजेको छ । अफ्रिकी टिम युगान्डाविरुद्ध मैदान उत्रिँदा नेपाली टिमले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखलाको अनुभव बटुल्ने छ । दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल जितसहित सुरुआत चाहन्छ ।

जगत टमाटाको प्रशिक्षणमा रहेको नेपाली टिमको नेतृत्व रुविना क्षेत्रीले सम्हाल्ने छिन् । शृंखलाको लागि घोषित १६ सदस्यीय नेपाली टिममा केही अनुभवी खेलाडी स्थान पाउँदा नेपाल क्रिकेट संघ (क्यान) ले धेरै युवा खेलाडीरुले मौका दिएको छ । जो आफूलाई प्रमाणित गर्ने अवसरको खोजीमा छन् ।

प्रशिक्षक टमाटाले शृंखलाको लागि घोषणा गरेको १६ सदस्यीय टोलीमा अस्मिना कर्माचार्य र हिरणमयी रोयले पहिलो पटक टोलीमा स्थान बनाएका हुन् । बागमती प्रदेशको कप्तानी गर्दै आएकी तिव्र गतिकी बलर अस्मिना यसअघि बन्द प्रशिक्षणमा रहे पनि राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएकी हुन् । यता, यु १९ प्रतियोगितामा राम्रो प्रदर्शन गरेकी लेग स्पिनर हिरणमयी रोय पहिलो अवसरमै टोलीमा स्थान बनाएकी हुन् ।

यसअघि नेपालले पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला कतारविरुद्ध गत मंसिरमा खेलेको थियो । कतार भ्रमण क्रममा खेलिएको शृंखला नेपालले ‘क्लिन स्विप’ गरेको थियो । हाल नेपाल आइसिसी ट्वान्टी २० वरियतामा १६औं स्थानमा छ भने युगान्डा १९औं स्थानमा छ ।

नेपाल र युगान्डाबीचको खेल सोमबार पहिलो ट्वान्टी २० जेठ ३ मा दोस्रो, ५ जेठमा तेस्रो, ६ जेठमा चौथो र अन्तिम तथा पाँचौ ७ जेठमा हुने तालिका सार्वजनिक भइसकेको छ । खेलका हेर्न दर्शकलाई मैदान प्रवेश निःशुल्क समेत गरिएको छ ।