फ्रेन्च लिग वान

नेसन्स कप अघि नै क्लब भविष्यको बारेमा निर्णय लिने एमबाप्पेको घोषणा

पेरिस । फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पेले जुनमा नेसन्स कप सुरु हुन भन्दा अघि नै आफ्नो क्लब भविष्यका बारेमा निर्णय सार्वजनिक गर्ने जनाएका छन् ।

एमबाप्पे र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) बीचको सम्झौता आगामी महिना सकिँदैछ । स्पेनिस ला लिगा च्याम्पियन रियाल मड्रिडले पछिल्लो केही सिजन देखी एमबाप्पेलाई भित्राउने इच्छा देखाउँदै आएको छ । 

पिएसजी भने एमबाप्पेले सम्झौता नबिकरण गर्नेमा विश्वस्त छ । यस सिजन उनले पिएसजीका लागि ३६ गोल गर्नुका साथै २१ गोलका लागि असिस्ट गरेका थिए । सबै खाले प्रतियोगिता गरि उनले यस सिजन पिएसजीका लागि ५७ गोल गरेका थिए । 

‘मैले मेरो आगामी गन्तब्यका बारेमा निर्णय लिइसके,’एमबाप्पेले भने, ‘जुनमा नेसन्स कपका लागि फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुनु अघि नै म निर्णय  सार्वजनिक गर्छु ।’

सन् २०१७ मा मोनाकोबाट पिएसजीमा आएका एमबाप्पेले सबै खाले प्रतियोगिता गरि दुई सय ४५ गोल गरिसकेका छन् ।

फ्रान्सले नेसन्स कपमा क्रोएसिया, डेनमार्क र अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ ।