नेपाली क्रिकेट

नेपाललाई २१४ रनको लक्ष्य

काठमाडौं । टाडिवान्से मरुमानीको अर्धशतकप्रेरित जिम्बाब्वे ‘ए’ले एकदिवसीय क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाललाई २ सय १४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको अन्तिम खेल समयमा सुरु हुन नसक्दा ३३ ओभरमा घटाइएको थियो ।

बिहान ९ः३० बजे हुने तय भएको खेल वर्षाका कारण मैदान चिसो हुँदा १२ः ३० बजे मात्रै सुरु भएको थियो । ढिला गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वे ‘ए’ले ३२.१ ओभरमा  विकेट गुमाएर २ सय १३ को योगफल तयार गर्यो ।

जिम्बाब्वे ‘ए’का लागि ओपनर मरुमानीले ३१ बलमा ७ चौका २ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । अर्का ओपनर इनोसेन्ट काया १४ बलमा १२ रन बनाएर पेभेलियन फर्केका थिए ।

यस्तै, कुद्जाई मौञ्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाएर आउट हुँदा रोय काया ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ बनाएर पेभेलियन फर्के ।

जिम्बाब्वे ‘ए’का कप्तान टोनी मुनयोङ्गा १२ बलमा २ चौका र २ छक्कासहित २४ रनमा आउट भएका थिए । यसबाहेक जोनाथन क्याम्पबेल ३, ब्राड इभान्स ७, लुक जोङ्वे १९, ब्रान्डोन माभवुता ६ र सेफस झाओ १६ रन बनाएर आउट भएका थिए ।

जिम्बाब्वे ‘ए’का भिक्टोर न्याउची शून्यमा अविजित रहे ।

बलिङतर्फ नेपालका लागि किशोर महतोले ७ ओभरमा ४३ रन खर्चेर १ मेडनसहित सर्वाधिक ५ विकेट लिए । यस्तै, सोमपाल कामीले ७ ओभरमा ४५ रन खर्चेर २ विकेट लिँदा बासिर अहमदले २ ओभरमा ११ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा करण केसीले ६.१ ओभरमा ४० रन खर्चेर १ विकेट लिए ।