जेरार्ड पिके

हाल्यान्डभन्दा एमबाप्पे उत्कृष्टः पिके

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले अहिलेका दुई चर्चित युवा फुटबलर एर्लिङ हाल्यान्ड र किलियन एमबाप्पेमध्ये को उत्कृष्ट भन्ने कुरामा आफ्नो मत राखेका छन् ।

पिकेले हाल्यान्ड र एमबाप्पे दुवैले भविष्यमा बालन डी अर जित्न सक्ने बताउँदै आफ्नो लागि भने एमबाप्पे उत्कृष्ट भएको बताएका हुन् ।

फ्रान्सका २३ वर्षीय स्ट्राइकर एमबाप्पेले फिफा विश्वकपसहित अन्य धेरै उपाधिहरु जितिसकेको छन् । सन् २०१७ मा मोनाकोबाट पेरिस सेन्ट जर्मन (पिएसजी) अनुबन्धित भएका एमबाप्पले एक विश्वकपसहित चार फ्रेन्च लिग वानको उपाधि चुमिसकेका छन् ।

यता, नर्वेका स्ट्राइकर हाल्यान्ड भने युरोपका उत्कृष्ट युवा स्ट्राइकरको गन्तिमा आउछन् । हाल्यान्ड सन् २०२० को जनवरीमा बोरुसिया डर्टमन्ड अनुबन्धित भएका थिए ।

दुवै खेलाडी हाल सरुवा बजारमा निकै चर्चित छन् ।

‘दुवै हाल विश्वका उत्कृष्ट खेलाडी हुन् । हाल्यान्ड र एमबाप्पे अहिले युवा अवस्थामै छन् र दुवैमा बालन डी अर जित्ने क्षमता छ,’ पिकेले भने, ‘मलाई लाग्छ, हाल्यान्ड उत्कृष्ट स्ट्राइकर हुन् र गोल पनि धेरै गरिरहेका छन् । तर, एमबाप्पे हाल्यान्डभन्दा पूर्ण खेलाडी हुन् । मैले हाल्यान्डसँग खेल्ने मौका पाएको छैन । तर, एमबाप्पेसँग भने खेलेको छु । दुईबीच उत्कृष्ट छनोट गर्नु निकै मुश्किल छ ।’