सन्दीप लामिछाने

सक्दो प्रयास अझै गर्छौं: कप्तान सन्दीप

काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा कप्तान सन्दीप लामिछानेले दुई खेल बाँकी रहँदासम्म जित्ने आशा हुने प्रतिक्रिया दिएका छन् ।

‘सबैकुरा सम्भव छ । हामीले अझै योजनाहरू बनाउन जरुरी छ,’ उनले खेलपछिको पत्रकार सम्मेलनमा भने, ‘सोमबार हुने खेलमा आजको जस्तो मोमेन्ट सिफ्ट गर्न दिँदैनौं । हामी जतिसक्दो प्रयास गर्छाै । खेल बाँकी रहँदासम्म आशा रहन्छ ।’

जिम्बाब्वेविरुद्धको ट्वान्टी २० श्रृंखलाको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रनको योगफल तयार पारेको थियो ।

नेपालले बलिङमा गरेको गल्तीलाई जिम्बाब्वेले राम्रो सदुपयोग गरेको बताए ।

‘हामीले योभन्दा अगाडि ठीकै टिमसँग खेल्थ्यौं, जिक्बाब्वे राम्रो टिम छ,’ उनले भने, ‘पावर प्लेभन्दा पनि हाम्रो ‘इन्डिङ’ राम्रो थिएन । बलिङमा हामीले च्याप्न र विकेट निकाल्न सक्थ्यौं तर, जिम्बाब्वे टिमको स्किपर आएर राम्रो इनिङ खेल्यो ।’

यस्तै, राष्ट्रिय टिममा पहिलो पटक डेब्यु गरेका वासिर अहमदलाई टिमले दिएको ‘रोल’लाई उसले न्याय गरेका बताए ।

यता वासिर पनि टिममा डेब्यु गर्दा खुशी भएको र आउँदो दिनमा नेपाललाई उपाधि दिलाउन सक्दो प्रयास गर्ने बताए ।

यस्तै, जिम्बाब्वेका कप्तान टोनी मुन्योङ्गाले नेपालविरुद्ध जित निकाल्न सहज नभएको प्रतिक्रिया दिए ।

‘नेपाली टिमसँगको खेल तुलनात्मक र राम्रो भयो । नेपालले दुई सय रन पुर्याउँछ भन्ने सोचेका थियौं तर, हाम्रा बलरहरुले राम्रो खेले । नेपालको टिमको सन्दीपजस्तो अनुभवी खेलाडी थिए,’ उनले भने ।

नेपालले जिम्बाब्वेसँग सोमबार ट्वान्टी २० श्रृंखलाको दोस्रो खेल खेल्दैछ ।