आरबिबी–एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप

आर्मीको सहज जित

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई सोझो सेटमा हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लबले आइतबार आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सप्पन्न पुरुषतर्फको खेलमा आर्मीले एपिएफमाथि २५-२३, २५-१८, २५-२२ को सेटमा जित निकाल्यो  ।

यसअघि भएको प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशले ढोरपाटन स्पोर्ट्स क्ललाई २५-१६, २३-२५, २५-१९, २६-२४ को सेटमा हराउँदै विजयी सुरुआत गरेको थियो ।

आइतबारै भएको पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले गल्कोट स्पोर्ट्स क्लबमाथि २५-१५, २५-१७, २५-२३ को सेटमा जित निकालेको थियो ।

प्रतियोगितामा सोमबार महिलातर्फको पहिलो खेल एभरेस्ट भलिबल क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान आठ बजे सुरु हुनेछ । प्रतियोगिताको महिला र पुरुषतर्फको विजेताले समान ६ लाख, उपविजेताले तीन  लाख, तेस्रो एक लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन्  ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगत विधातर्फको उत्कृष्ट  सेटर, ब्लकर सर्भर, स्पाईकर, लिब्रो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।