नेपाली राष्ट्रिय क्रिकेट टोली

जिम्बाब्वे ‘ए’लाई नेपालले दियो १ सय ८२ रनको लक्ष्य

काठमाडौं । जिम्बाब्वे ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको पहिलो खेलमा नेपालले १ सय ८२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गर्यो ।

नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले २७ रनको साझेदारी गर्दै मध्यम सुरुआत दिलाएका थिए । नेपालका लागि ३१ बलको सामना गरेका कुशलले ८ चौकासहित ४६ रनको शानदार इनिङ खेल्दा १६ बलमा एक चौकासहित ९ रन बनाएर आशिफ आउट भएका थिए । आदिल आलमले २७ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४७ रनको इनिङ खेलेका थिए ।

तेस्रो नम्बरमा क्रिजमा उत्रिएका रोहितकुमार पौडेलले २६ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाउँदा आरिफ शेख ४ बलमा २ रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै करण केसी ४ रनमा अविजित रहे ।

जिम्बाब्वेका लागि ब्राड इभान्स, लुक जोङ्ग्वे, ब्रान्डोन माभुता र जोन मसाराले एक–एक विकेट लिए ।