नेपाल टी २०

‘नेपाल टी २०’ क्यानको आधिकारी प्रतियोगिता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आधिकारी प्रतियोगिताको रुपमा नेपाल टी २० आयोजना गर्ने घोषणा गरेको हो ।

हाल नेपालमा नीजि क्षेत्रबाट एभेरेष्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) जस्ता चर्चित फ्रेन्चाइज लिगहरु आयोजना हुँदै आएका छन् ।

नेपाल टी २० भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस व्यवसायिक साझेदारको रुपमा रहने छ । यसअघि सेभेन थ्री स्पोर्टसले क्यानसँग १० वर्षे समझदारी गरे पनि पछि आठ वर्षमा झारेको थियो ।

क्यानले प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाइसकेको छ ।

प्रतियोगिता घोषणापछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल टी २० नेपाली क्रिकेट, विशेष गरी क्रिकेटमा भविष्य खोजिरहेका युवाहरुका लागि ठुलो पहल हुने बताए ।

यस्तै, खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले प्रतियोगिताले नेपाली क्रिकेटको मात्र नभई समग्र देशको आर्थिक अवस्थालाई बलियो बनाउने बताए ।