एन्फा चुनाव

नेपाल फुटबल महिला संघको चुनाव मंगलबार, अध्यक्षमा विमला र डोल्माको प्रतिस्पर्धा

काठमाडौं । नेपाल फुटबल महिला संघको अध्यक्षका लागि विमला पौडेल र पेमा डोल्मा लामाले उम्मेदवारी दिएका छन् ।

मंगलबार हुने निर्वाचनमा यसअघि विमला अध्यक्षका लागि निर्विरोध चयन गर्ने तय भए पनि पेमाले उम्मेदवारी दिएपछि चुनाव हुने भएको हो । यस्तै, उपाध्यक्ष पदका लागि पनि चार जनाको उम्मेदवारी परेको छ । जसबाट तीन निर्वाचित हुन्छन् ।

संघको उपाध्यक्षका लागि प्रमिलासिंह श्रेष्ठ, रमा भट्टराई, लुना प्रधान र कमलासिंह हिराचनले उम्मेदवारी दिएका छन् ।

यद्यपि, संघको सदस्य भने निर्विरोध चयन हुने एन्फा स्रोतले खेलाडीलाई जानकारी दिए । संघमा ४३ जना मतदाता छन् ।

एन्फाको केन्द्रीय चुनाप ६ गतेलाई तय भएसँगै निर्वाचनका लागि मताधिकार प्राप्त एन्फासम्बन्धित संघहरुको नयाँ नेतृत्व चयन भइरहेको छ ।

एन्फाको केन्द्रीय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् । १४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् ।