ज्योति केसी नव प्रतिभा पुरस्कार

भलिबलमा वर्षकाे उत्कृष्ट उदीयमान खेलाडीलाई ‘ज्योति केसी नव प्रतिभा पुरस्कार’ बाट पुरस्कृत गरिने

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी व्यवस्थापक ज्योती केसीले वर्षको उत्कृष्ट उदीयमान महिला तथा पुरुष खेलाडीलाई ‘ज्योति केसी नव प्रतिभा पुरस्कार’ बाट सम्मान गर्ने भएकी छन् ।

नेपाल भलिबल संघकी केन्द्रिय सदस्य केसीले तीन लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेकी छन् । सो अक्षयकोषबाट आएको ब्याजले एनभिए लिगको उदीयमान खेलाडीलाई सम्मान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

‘मन्त्रीपरिषदबाट पैसा दिने घोषणा भए लगत्तै बंगलादेशमा नै खेलाडीलाई सम्मान गर्ने सोच बनाइसकेको थिए । तर कार्य व्यस्तताको कारण यो घोषणालाई ढिलो गर्न पुगे । पछि योबाट शिक्षा र स्वास्थ्यमा सहयोग हुन्छ कि भनेर संघलाई पैसा हान्डवोभर गरिन,’ उनले भनिन्, ‘भलिबलमा पछि पनि तन, मन र वचनले लागि पार्नेछु ।’

यस्तै, उनले पत्रकार सम्मेलनमा बोल्दै भविष्यमा अक्षयकोषको वृद्धि गर्ने बताइन् ।

संघका महासचिव जितेन्द्रबहादुर चन्दले भविष्यमा आफू नरहे पनि यो अवार्डबाट सम्पुर्ण खेलाडीहरुले याद गर्ने आधार बनेको बताए ।

‘उहाँले पाउनु भएको पुरस्कारमा एक लाख थपेर यो अवार्ड गर्ने सोच बनाउनु भएको छ, याे धेरै राम्रो कुरा हो,’ उनले भने, ‘यदि मैले पाएको भए यस्तो गर्दिन थिए । किनकी यो पैसाबाट परिवारलाई सहयोग हुन्थ्यो । उहाँको कार्य सरहनीय छ ।’

यस्तै, मनोरञ्जनरमण शर्माले आज (सोमबार) को दिन खेलाडीको लागि ठुलो दिन भएको र ज्योतिले धर्मको काम गरेको बताए ।  

सो पत्रकार सम्मेलनमा भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्के, महासचिव जितेन्द्रबहादुर चन्दलगायत संघका पदाधिकारीहरुको उपस्थिती थियो ।

गत वर्षको पुसमा बंगलादेशको राजधानी ढाकामा आयोजना भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्दा ज्योती टिमको व्यवस्थापक थिइन् ।

लगातार दोस्रो पटक उपाधि घर ल्याएको टिमलाई मन्त्रीपरिषद्ले खेलाडीलाई जनही पाँच लाख, प्रशिक्षकलाई तीन लाख र अफिसियललाई दुई लाख दिने घोषणा गरेको थियो ।