पारसको जर्सीलाई पनि संन्यास

काठमाडौं, (खेलाडी)- नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान गरेका राष्‍ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रयोग गर्ने गरेको ७७ नम्बरको जर्सीलाई पनि संन्यास दिइने भएको छ ।

अन्तर्राष्‍ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका नेपाली राष्‍ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारसको सम्मानार्थ नेपाल क्रिकेट संघ (क्यान)ले यस्तो निर्णय गरेको जनाएको छ ।

नेपाली क्रिकेटमा पारसले दिएको योगदानको सम्मानस्वरूप खेल्ने क्रममा प्रयोग गर्दै आइरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुर्‍यालले बताए । 

‘पारसले नेपाली क्रिकेटलाई दिएको योगदानको कदर गर्दै ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने निर्णय भएको छ,’ सचिव प्याकुर्‍यालले भने, ‘क्यानको बैठकले जर्सी नम्बरको विषयमा मात्र निर्णय गरेको छ । बिदाइको विषयमा भने छलफल भएको छ । तर औपचारिक निर्णय भने भएको छैन । छलफलकै क्रममा रहेकाले आउँदा दिनमा के गर्ने भन्‍ने बैठकले निर्णय गर्नेछ ।’

झन्डै दुई दशक लामो अन्तर्राष्‍ट्रिय करियरमा पूर्णविराम लगाउँदै पारसले गत मंगलबार अचानक संन्यास घोषणा गरेका थिए ।
पारसको नेतृत्वमा नेपाली टोलीले डिभिजन पाँचदेखि क्रिकेट सफलताको श्रेणी उक्लिँदै आएको थियो । सफलताको क्रममा नेपालले  एकदिवसीय मान्यता पाउँदा २०१४ मा विश्‍वकप ट्‍वान्टी २० क्रिकेटमा पनि उनकै कप्तानीमा नेपालले प्रतिनिधित्व गरेको थियो ।