इपिएलको ट्रफी सार्वजनिक 

काठमाडौं, (खेलाडी)- नेपाली क्रिकेटको सबभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एभरेष्‍ट प्रिमियर लिग (इपिएल) को ट्रफी सोमबार सार्वजनिक गरिएको छ । 

हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादन बजाज पल्सरको मुख्य प्रायोजन रहने प्रतियोगिता यही असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

सोमबार आयोजित कार्यक्रममा इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरे । त्यसअघि अख्तर र गोल्छाले मुख्य प्रायोजनसम्बन्धि तीन वर्षे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 

हंशराज एण्ड हुलासचन्द कम्पनीका अध्यक्ष गोल्छाले खेलकुदसँगको संलग्‍नता लामो समयदेखि रहेको उल्लेख गर्दै खेलकुदले सकरात्मक सोचमा पनि विकास गर्ने भन्दै खेलकुदमा जोडिएको बताए ।

‘महामारीलाई छिचोल्दै अगाडि बढ्नुपर्छ । खेलकुदले सकरात्मक सोचको विकास गर्दछ र रोगसँग पनि लड्न सहयोग गर्छ,’ अध्यक्ष गोल्छाले भने, ‘महामारीको बीचबाट उठेर कोरोनाको सामना गर्नुपर्छ । आममानिसमा सकरात्मक सोच ल्याउनका लागि पल्सर इपिएलसँग जोडिएको हो ।’

बजाज पल्सरले नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्ड नेपाल खेलकुद पत्रकार मञ्‍चले गर्ने पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकका रुपमा लामो समयदेखि सहकार्य गरिरहेको छ । 

यस्तै बजाज पल्सरसँग जोडिन पाउँदा निकै खुसी भएको इपिएलका निर्देशक अख्तरले बताए । 

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीहरू विराटनगर वारियर्स, काठमाडौं किङ्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियोट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् ।