साफ च्याम्पियनसिप माल्दिभ्समा हुने 

काठमाडौं, (खेलाडी)- नेपालले आयोजनाको प्रस्ताब गरेको दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको १३औं संस्करण माल्दिभ्समा हुने भएको छ । 

सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले अक्टोबर १ देखि १३ सम्म हुने प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको हो । 

‘साफले प्रतियोगिता आयोजनाको जिम्मेवारी माल्दिभ्सलाई दिने निर्णय गरेको छ,’ अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधारले भने, ‘माल्दिभ्समा कोरोनाको संक्रमण दर अन्य देशको तुलनामा कम छ । माल्दिभ्स एक्लैले अहिलेसम्म साफ च्याम्पियनसिप आयोजना गरेको पनि छैन । यही कारणले जिम्मा माल्दिभ्सलाई दिइएको हो ।’

१३औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ भने भुटानले तीन दिनपछि निर्णय दिने जानकारी गराएको एन्फाले जनाएको छ । 

कोभिड १९ को महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिता यसअघि सेप्‍टेम्बर १४ देखि २५ सम्म ढाकामा हुने तालिका थियो । तर आयोजक बंगलादेशले महामारीका कारण आयोजना नगर्ने जानकारी गराएपछि आयोजक अनिश्‍चित भएको थियो । 

बंगलादेशले नगर्ने बताएपछि साफले नेपाललाई पनि आयोजना गर्ने भए प्रस्ताब पठाउन भनेको थियो । त्यहीअनुसार एन्फाले साफमा प्रस्ताब गरे पनि माल्दिभ्सले पनि इच्छा देखाएका कारण नेपाल आयोजनाको अवसरबाट बञ्‍चित भएको हो । 

१९९७ मा पहिलो संस्करण आयोजना गरेको नेपाले यसअघि दुई पटक साफ च्याम्पियनसिप गरिसकेको छ । नेपालले दोस्रो तथा पछिल्लो पटक २०१३ मा दशरथ रंगशालामा आठौं साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।